खोटाङ: शनिबार खोटाङमा छुवाछुतमुक्त समाज निर्माणको लागि १ नम्बर प्रदेशको अभियानअन्र्तगत सहभोज कार्यक्रम थियो । उक्त कार्यक्रममा भने प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको बिहेको चर्चा चल्यो ।
मुख्यमन्त्री राई अविवाहित छन् । त्यसैले उनको बिहेको चर्चा बेला बेला हुने गरेको छ । आज पनि जिल्ला समन्वय समितिले दिक्तेल रुपाकोट मझुवागढी ४ स्थित खल्लेमा आयोजित सहभोज कार्यक्रममा मुख्यमन्त्री राईको बिहेको चर्चा चलेको हो । नेकपाका नेता कार्यकर्ताले दलितकी छोरीसँग बिहे गरेर मुख्यमन्त्री राईले छुवाछुतमुक्त प्रदेश निर्माण अभियानको शुभारम्भ गर्नुपर्ने चर्चासमेत चलाए । नेकपासम्बद्ध दलित अगुवाले मुख्यमन्त्री राईको विवाहको कुरा चलाएको नागरिकन्यूजले समाचार प्रकाशन गरेको छ ।

नेकपाका नेता एबं जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर बिश्वकर्माले प्रदेशलाई छुवाछुतमुक्त घोषणा गर्ने अभियान सफल बनाउन मुख्यमन्त्री राईले दलितको छोरीसँग बिवाह गर्नुपर्नेमा जोडदिएको समाचारमा उल्लेख छ। उनको भनाईलाई कार्यक्रममा सहभागीले चाख मानेर सुनेका थिए। ‘प्रदेश सरकारले थालेको छुवाछुतमुक्त समाज निर्माण गर्ने अभियानलार्ई सफल बनाउन मुख्यमन्त्रीले आफैंबाट सुरुवात गर्नुपर्ने विश्वकर्माले धारणा राखेका थिए । त्यसको लागि मुख्यमन्त्री राईले दलितको छोरीसँग बिवाह गर्नुपर्ने उल्लेख गर्दै जिसस सदस्य विश्वकर्माले भने, ‘बरु कलिया गर्न परे म आफै गरौंला।’


































































