खोटाङ: सिटिइभिटिबाट सम्बन्धन प्राप्त दिक्तेल प्राविधिक शिक्षालयबाट शैक्षिक प्राक्टिकलमा गएका दुई विद्यार्थी दुई विद्यार्थी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ स्थित लफ्याङ्ग्को साप्सु कालिका हाइड्रोपावर अध्ययन भ्रमणका गएको बेला १९ बर्षीय एलिस बस्नेत र बिक्रम भटराईको खोलामा डुबेर मृत्यु भएको हो । उनीहरु साप्सु खोलामा पौडी खेल्नेक्रममा डुबेका थिए । सव–ओभरसियर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई शिक्षालयले शनिबार भ्रमणका लागि लगेको थियो । उक्त सयममा पौडी खेल्दा उनीहरु डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हाईड्रोपावर भन्दा केहीमाथि रहेको खोलाको दहमा पौडी खेल्दा दुवैजना डुबेको प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए । शुरुमा दहमा भट्टराई डुबेका थिए । उनलाई बचाउन जादा बस्नेत पनि डुबेको विद्यार्थीहरुले बताएका छन् । दहमा गएका ३ जनामध्ये दुई जना डुबेपछि अर्का एक विद्यार्थीले शिक्षक र अन्य विद्यार्थीहरुलाई खबर गरेका थिए । घटनास्थलमा करिब २ घण्टा पछि मात्र दुवैको शव तैरिएको अवस्थामा भेटिएको थियो । भ्रमणमा ३५ जना विद्यार्थीहरु गएका थिए । घटनाबारे अनुसन्धान शुरु गरिसकेको प्रहरीले जनाएको छ ।