धरान : धरान उपमहानगरपालिकाले लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण सम्बन्धि नीति, रणनीति तथा योजना निर्माण गर्ने तयारी गरिरहेको छ ।

योजना तर्जुमा गर्ने क्रममा शुक्रबार देखि उपमहानगरपालिकाको कार्यक्रम कक्षमा विभिन्न समूहहरुसँग निरन्तर छलफल गरिरहेको छ । धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा सम्पन्न भएको छलफल कार्यक्रममा सेवा प्रदायक संस्था औरोरारी सर्च सेन्टरका शरु जोशी र रत्नकाजी वज्रचार्यले सहजिकरण गरेका थिए ।

धरानमा महिलाको वर्तमान अवस्था, भएका समस्या र गरेका सफल प्रयासहरुको विषयमा जानकारी लिई योजनाको खाका कोर्न प्रारम्भिक चरणको छलफल गरिएको धरान उपमहागरपालिकाकी लैससास फोकल पर्सन हेमा थलङ्गले बताए । छलफलको क्रममा विभिन्न जातीय संघसंस्था, धरान उपमहानगरपालिकाका महाशाखा प्रमूखहरु, उपमहानगर कार्यपालिकाका सदस्यहरु, निर्वा्चित महिला सदस्यहरु, महिला अधिकारकर्मीहरु सँग छुट्टा छुट्टै छलफल गरिएको थियो । महिलाका लागि आगामी नीति, रणनीति र योजना कस्तो हुने भन्ने सम्बन्धमा जेष्ठ नागरिक, महिला समूह, बाल समूह, यूवा समूह तथा यौनिक अल्प संख्यक लगायतका प्रतिनिधिहरु सँग व्यापक छलफल र प्रस्तुती गरिएको थियो ।

धरान उपमहानगरपालिका र वडा कार्यालयमा संचालन गरिएको महिला लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन अब बन्ने नीति र योजनाले सहयोग पु¥याउने महिला अधिकारकर्मी शरु जोशीले विश्वास व्यक्त गरिन् । साथै उनले कार्यक्रम संचालन गर्नु पूर्व नीति, रणनीति र योजना बन्नु आवश्यक भएको र सबैको विचार र अनुभवलाई समेटेर व्यवहारिक नीति तथा योजना तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । धरानलाई बाल मैत्री नगर सँगै महिला मैत्री नगर बनाउने कामलाई प्राथमिकता दिएर अघि बढ्ने धरान उपमहानगरपालिकाका लक्ष्य रहेको छ । यसका लागि यो नीति तथा योजना तर्जुमा गरी त्यसलाई कार्यान्वयन गरेर देखिन सकिने उपलब्धि प्राप्त गर्ने गरी काम गर्ने धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले प्रतिवद्धता व्यक्त गरिन् ।
कावा भण्डारीले भने, “महिलाका लागि कार्यक्रम सम्पन्न गरेर मात्र पुग्दैन । कार्यक्रमले महिलाको समस्या समाधान गर्दै आपेक्षित लक्ष्य, उद्देश्य र योजना पुरा गर्न सहयोग गर्नु पर्दछ । महिलाका लागि काम गर्ने महिला जनप्रतिनिधिहरु समेत विभेद र हिँसाका समस्याहरु भोग्नु परेको अवस्था रहेको छ ।”

टोल विकास संस्था मार्फत योजना कार्यन्वयन गर्न सकिने उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमूख प्रज्ञादेवी निरौलाले विचार प्रस्तुत गरेका थिए । महिला नगर प्रोफाईल बनाएर मात्र कार्यक्रम संचालन गर्न सकिने सहभागीहरुले छलफलमा सुझाव दिएका थिए ।