इटहरी:इटहरीमा मंगलबार विहान फोहोर बोकेको ट्याक्टरमा अचानक आगो लागेको छ ।
विहान १० बजेको समयमा फोहोर ल्याएर आउने क्रममा को २ त ५३१८ नम्बरको ट्याक्टर इटहरी ९ को आँखा अस्पताल नजिकै रोकेर राखेको समयमा आगो लागेको हो । खाजा खाने क्रममा अचानक ट्याक्टरमा धुँवा देखिएको ट्याक्टरका ड्राइभर रामकुमार गुरुङले बताए । उनका अनुसार आँफूहरु खाजा खान गएको र फर्कने क्रममा धुँवा देखिएपछि पानी लगाउने क्रममा ठूलो आवाजमा बम पड्किएको बताए । उनले भने,‘हामी नास्ता खान गएका थियौँ, बाहिर निस्केर हेर्दा धुँवा देखियो एक बोतल पानी हाल्ने बित्तिकै ठूलो आवाज आयो र ट्याक्टरमा आगो बल्न थाल्यो ।’

लिम्बुका अनुसार चुरोटको ठुटा कसैले सल्काएर हालेको शंका गरिए पनि दुई पटक पड्किए पछि बम भएको शंका गरिएको छ । पड्किएको छर्राले लागेर सोही ट्याक्टरमा काम गर्ने कृष्ण लिम्बु घाईते भएका छन् । सामान्य घाईते भएका लिम्बुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । ट्याक्टरमा भने क्षति हुन नपाएको उनले बताए । प्रत्यक्षदर्शी बिमला अधिकारीका अनुसार ठूलो आवाजमा एक्कासी केही पड्केको आवाज आएको र गाडीको पछाडि बलेको बताईन् । उनले भनिन्,‘पड्किने बित्तिकै गाडीको पछाडि बल्नथाल्यो, पानी लगाउँदा पनि पड्कियो ।’
इटहरी उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रण लिने क्रममा पनि बम जस्तै केही ठूलो आवाजमा पड्किएको उनले बताईन् ।‘दुईपटक पड्किएपछि बम नै हो कि के पड्केको हो, अरुबेला यस्तो हुने थिएन,’उनले भनिन् । प्रहरीले केमिकल पड्केको बताएको छ । तर, प्रत्यक्षदर्शी टंक दाहालले चुस्त रुपमा अनुसन्धान हुनुपर्ने बताए । उनले भने, ‘दुईपटक पड्किदा बम नै हो भन्ने लागेको छ, कुन बम हो र कसरी पड्कियो अनुसन्धान हुन जरुरी छ ।’
इटहरी उपमहानगरपालिकाको फोहोरको जिम्मा पाएको वेष्ट एण्ड इन्भारो मेनेजमेन्ट कम्पनीका व्यवस्थापक भरत गिरीका अनुसार फोहोरमा अचानक बिष्फोट हुनु शंकास्पद छ । ‘अचानक धुँवाको मुस्लो निस्केपछि त्रास नै भयो,’उनले भने,‘नगरपालिकाले फोहोर फाल्नका लागि चारकोशे झाडीमा सामूदायिक वनसँग सम्झौता गरेको छ, त्यहिँजाने क्रममा पड्कियो ।’ ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलले केमिकल रियाक्सन भएकाले पड्किएको बताए ।