धरान: आगामी असोज पहिलो साता धरानमा हुने २० औं मिस्टर धरान शारीरिक सुगठन प्रतियोगिताको च्याम्पियनले उपाधि ट्रफीसँगै नगद १ लाख पुरस्कार पाउने भएका छन् ।

यो नगद पुरस्कार अहिलेसम्मको मिस्टर धरानको इतिहासमा सर्वाधिक हो । सुनसरी जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले आइतबार पत्रकार सम्मेलन गर्दे असोज ३ र ४ गते धरानमा मिस्टर धरान गर्ने जानकारी दिएको हो । ओभर अल राउण्डमा मात्र होइन, यसपटक तौल समुहका दोस्रो र तेस्रो खेलाडीलाई पनि नगद पुरस्कार दिइने अध्यक्ष चन्दन श्रेष्ठले जानकारी दिए । ‘शारीरिक सुगठन खेलमा यो आकर्षक पुरस्कार हो । ओभरअल राउण्डमा दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई ३० हजार र चौथो हुनेलाई २० हजार नगद पुरस्कार दिनेछौं,’संघका जिल्ला अध्यक्ष चन्दन श्रेष्ठले भने । उनले आगामी फागुनमा प्रदेश १ स्तरीय शारीरिक सुगठन प्रतियोगिता पनि आयोजना गर्ने बताए ।

प्रतियोगितामा धरानभरिका विभिन्न फिटनेश क्लबहरुबाट मात्र खेलाडीहरुले प्रतिनिधित्व गर्नुपर्नेछ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समुहमा स्पर्धा हुनेछ । पहिलो दिन प्रि जजिङ राउण्ड हुनेछ, र उक्त राउण्डबाट प्रत्येक तौल समुहबाट छनौट भएका बढीमा ६ जना खेलाडीहरुले मात्र दोस्रो दिनको फाइनल चरणमा प्रतिस्पर्धा गर्न पाउनेछन् । फाइनलमा प्रत्येक तौल समुहबाट प्रथम हुने खेलाडीले मात्र ओभरअल राउण्डमा उपाधिको लागि भिड्न पाउने आयोजक संस्थाका प्रथम उपाध्यक्ष कविर प्रधानाङ्गले बताए । ‘यसपाली हामीले तौल समुहमा पनि दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरेका छौं, यस्तो प्रतियोगितामा तौल समुहमा नगद पुरस्कार दिइने चलन थिएन,’उनले भने ।

आयोजक संघका अनुसार तौल समुहमा दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः नगद १० हजार र ५ हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र पनि दिइनेछ । प्रथम हुने खेलाडीले भने ओभरअल राउण्डमा उपाधिको लागि भिड्ने अवसर पाउनेछन् । ओभरअल राउण्डमा ती खेलाडीले कम्तीमा पनि २० हजार(चौथो) नगद पुस्कार पाउनेछन् । ‘खेलाडीहरुले खर्च गरेर तयारी गरेका हुन्छन्, त्यसैले तौल समुहमा पनि पुरस्कार दिनु राम्रो हो,’संघका केन्द्रीय उपाध्यक्ष रनबहादुर थेवेले भने ।

नेपालमा धरानबाट नै शारीरिक सुगठन खेलको प्रतियोगिता शुरु भएको इतिहास छ । सबैभन्दा पहिला २०२७ सालमा मिस्टर धरान भएको थियो । यो नेपालकै पहिलो शारीरिक सुगठन प्रतियोगिता हो । पहिलो मिस्टर धरान रमेश खनाल हुन् । एक समयमा शारीरिक सुगठन प्रतियोगितामा सहभागी हुन खेलाडीहरुको घुँइचो लाग्थ्यो । हिजोआज भने खर्चालु भएकोले खेलाडीहरुको संख्या घटेको शारीरिक सुगठनका अग्रज राजभगत प्रधानाङ्गले बताए । ‘पहिला हामी मकै, भटमास खाएर तागत बढाउथ्यौं, अचेल अनेक प्रकारको पोषण किनेर खानुपर्छ । धेरै खर्च हुन्छ, र त्यो धान्न नसकेर खेलाडीहरु कम छन्,’उनले भने ।