धरान: प्रदेश १ स्तरीय ‘वाइवाइ एसईई स्टेट–१ आइडल’को ग्राण्ड फिनाले आउदो शुक्रबार धरानमा हुने भएको छ ।

धरानमा सञ्चालित फक्ताङलुङ (एफटीएल)अनलाइन टिभीले धरान–८ स्थित सभागृहमा ग्राण्ड फिनाले गर्ने भएको हो । ग्राण्ड फिनालेको लागि सम्पूर्ण तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गदै आयोजकले जानकारी दिएको छ । प्रदेश १ का विभिन्न जिल्लामा पुगेर लिइएको अडिसनबाट अन्तिम १० प्रतिस्पर्धी छनौट भएका छन् । फाइनलमा तिनै प्रतिस्पर्धीले उपाधिको लागि भिडन्त गर्ने एफटिएलका प्रबन्धक डम्बरकुमार तुम्बापोले बताए । उनका अनुसार अन्तिम प्रतिस्पर्धामा ६ जना पुरुष र ४ जना महिला छन् ।

बैशाख १४ गते ओखलढुङगाबाट शुरु गरिएको अडिसन विभिन्न जिल्ला पुगेर २ सय जना सहभागी भएका थिए । उत्कृष्ट १० मा छनौट भएका प्रतिस्पर्धीहरुको लागि जेष्ठ ४ गते दिउसो १ बजेदेखि २४ गते विहान ८ बजेसम्म भोटिङ खुल्ला गरिएको थियो । उपाधि जित्नका लागि प्रतिस्पर्धीहरुले भोटिङमार्फत २५ प्रतिशत र बाँकी ७५ प्रतिशत निर्णायकबाट अंक प्राप्त गर्ने एफटीएलका प्रबन्धक तुम्बापोले बताए । ‘भोटिङमार्फत २५ प्रतिशत र बाँकी ७५ प्रतिशत निर्णायकबाट अंक प्राप्त हुन्छ,’उनले भने,‘प्रतिस्पर्धीहरुले लाइभ प्रस्तुती पनि दिनेछन् ।’

अडिसनसँगै रिदम राउण्ड र गाला राउण्ड हुँदै उत्कृष्ट १० छनौट भएका थिए । ग्राण्ड फिनाले दिउँसो साढे २ बजेदेखि शुरु हुने छ । प्रतियोगिताको निर्णायकहरुमा गायक दिपक लिम्बु, गायिका प्रश्ना शाक्य, प्राज्ञ राम धामी र संगीत प्रशिक्षक विनायक राई रहेका छन् । अडिसन ओखलढुङगाबाट बैशाख १४ गते शुरु भएको थियो । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित एउटा गीत रेकर्डिङ, एक म्यूजिक भिडियो र प्लस टु अध्ययनको लागि पूर्ण छात्रवृत्ति पाउने भएको छ । यस्तै, दोस्रो र तेस्रो प्रतिस्पर्धीहरुले क्रमशः नगद ३० हजार र २० हजार रुपैयाँसहित ५० प्रतिशत र ३० प्रतिशत प्लस टु अध्ययनको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।