बराहक्षेत्र : गोरु काटेको अभियोगमा पक्राउ परेका निमा शेर्पा, आसिक राई र तिलक राईलाई बराहक्षेत्र ३ नडाहामा खादा, अबिर ढाका टोपी लगाएर विहीबार जन अभिनन्दन गरिएको छ ।
पक्राउ गरेका तिनै जनालाई एघारौं दिनमा रिहाई गरेपछि ३० गते सम्मान अभिनन्दन गरि नाडाहा चोकमा घुमाई कोणसभा समेत गरेका थिए । उनिहरुलाई स्थानीयबासी आदिवासी सांस्कृतिक अधिकार संरक्षण समिति, इसाई समाज बराहक्षेत्र, राजनीतिक दल लगायतको उपस्थितिमा सम्मान गरिएको हो । पक्राउ परेको खबर पाएपछि नेपाल आदिवासी जनजाति महासंघ, सांस्कृतिक अधिकार संरक्षण समितिको अगुवाईमा ध्यानाकर्षण पत्र बुझाउदै रिहाइको माग गरेका थिए ।

गोरु काटेको अभियोगमा जेठ १७ शुक्रवार अस्थायी प्रहरी चौकी बाङ्गेले पक्राउ गरि इलाका प्रहरी कार्यालय महेन्द्र नगरले मुलिकी संहिता ऐनको चौपाया महल अनुसार मुद्दा दर्ता गरेको थियो । तिनै जनालाई सुनसरी जिल्ला अदालतका न्यायाधीश चन्द्रपसाद सापकोटाको इजलासले जनही पच्चीस हजार रुपैया धरौटीमा एघारौं दिनपछि जेठ २८ गते रिहाई गरिको कुरा अधिवक्ता पदम लिम्बुले जानकारी दिए । उनीहरुलाई रिहाई गराउनको लागि सुनसरी जिल्ला अदालतमा अधिवक्ता पदम लिम्बू र मिना काफ्लेले बहस गरेको हो ।
अभिनन्दनपछि कोणसभामा सांस्कृतिक अधिकार संरक्षण समितिका संयोजक सुबास हुक्पाचोङ्बाङले संविधान मै संविधानसंग बाझिएको कानुन स्वत अमान्य हुने उल्लेख भएको जनाउदै गोरु काट्दा पक्राउ गर्नु संविधान विपरित भएको दाबी गरे । किरात राई यायोक्खा बराहक्षेत्र नगर अध्यक्ष सन्जय राईले धर्म निरपेक्षमा पनि मरेको गोरु काट्दा तीन जना पक्राउ गरेको किरात राई यायोक्खाको घोर आपत्ति र विरोध जनाए ।
मंगोल विद्यार्थी युनियनका अडिल खम्बुले संविधानमा सुनिश्चित गरेको मौलिक हक अनुसार भाषा धर्म संस्कार गर्न पाउने भनेर उल्लेख भएको बताए । तर राज्यले भने आदिवासी मुलवासीलाई आक्रमण गरिरहेको आरोप लगाए ।
पक्राउपछि रिहाई भएका आसिक राईले प्रहरीले हिरासतमा तिनै जनाले मरेको गोरु काटेको भनेर बयान दिएको तर प्रहरीले गोरु काटेको भनेर झुठो बयान लेखेको खुलासा गरे ।