झापा: दमक नगरपालिकाले हिंसामा परेका महिलाहरुको लागी महिला सुरक्षा गृह संचालन गरेको छ । यो गृह सञ्चालनमा आएसँगै हिंसा पीडित महिलाहरुलाई पुर्नस्थापनामा सहज भएको छ ।
दमक ३ बेलडाँगीमा रहेको सुरक्षा गृहमा घरेलु हिँसा तथा बलात्कृत भएका महिलाहरुलाई लक्षित गरेर संचालन गरिएको नगरपालिकाले जनाएको छ । हाल यो सुरक्षा गृहमा बिभिन्न स्थानका १३ जना महिलाहरुले सेवा लिएको जनाइएको छ । दमक ३ स्थित बेलडाँगीमा भुटानी सरणार्थी बसोबास रहेको बेलडाँगी २ मा युएनएचसिआरले भुटानी शरणार्थी समुदायलाई लक्षित गरि स्थापना गरेकोे भवनलाई नगरपालिकाले ब्यबस्थापन गरि गत बर्षको पुस महिनादेखि सुरक्षा गृहका रुपमा संचालन ल्याएको हो ।

भुटानी शरणार्थीहरु तेस्रो मुलुक पुुर्नबास भएसंगै सो भवनलाई नगरपालिकाले पुन संचालनमा ल्याएको छ । महिला सुरक्षा गृहमा घरेलु हिंसा, हाड नाता जबरजस्ति करणीमा परेकाहरुलाई पहिलो चरणको सुरक्षा दिन थालिएको छ । हिंसाको पीडामा परेका महिलाहरुलाई पहिलो चरणमा सुरक्षा प्रदान गर्र्दै घर परिवार र सामाजिक पुर्नस्थापनाका लागि, कानुनी, मनोबिमर्श र स्वास्थ्य सेवा सहित आश्रय दिने गरिएको ग्रामिण तथा शहरी बिकाश नेपालकी अध्यक्ष बसन्तलक्ष्मी उदासले बताईन् ।
नगरपालिकाले हिँसामा परेका महिलाहरु कोही पनि असाहाय भएर बस्न नपरोस भनेर गत बर्ष देखि नै बजेट बिनियोजन गर्दै आएको जानाइएको छ । हिंसापछि अलपत्र परेका महिलाहरुलाई यो गृहमा सुरक्षा प्रदान गरी घर परिवारका जिम्मा लगाउने र संरक्षक नभएकाहरुलाई गृहमै संरक्षण दिने उद्देश्य रहेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी बताउछिन् । आगामी दिनमा गृहलाई तिनै तहका सरकारको सहयोगमा व्यवस्थित गरिदै लगिने उपप्रमुख अधिकारीको भनाइ छ ।
पछिल्लो समय देशमा बिभिन्न प्रकारका जगन्य अपराधको घटनाहरु बड्दो क्रममा रहेको छ । यस्ता घटनामा बिशेष गरि महिला तथा बालबालिकाहरु धेरै प्रभाबित भएका छन । दमकको सन्दर्भमा पनि यस्ता घटनाहरु दिनानुदिन बढिरहेको पाइएको छ । यसरी अलपत्र परेका घरेलु हिँसा तथा बलात्कृत भएका महिलाहरुलाई सुरक्षा तथा संरक्षणको लागी अन्यत्र शहरमा ब्यबस्थापनको लागी अग्रह गर्नु पर्ने बाध्यता रहेकोले दमकमा नै महिला सुरक्षा गृह संचालन भए पछि धेरै सहज भएको बताउछन् इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बा । महिला सुरक्षा गृह ग्रामीण तथा शहरी बिकाश नेपाल र दमक नगरपालिकाले संयुत प्रयासमा संचालन गर्दै आएको छ ।