धरान: राजनीतिकर्मी एवं औजार दैनिक पत्रिकाका अध्यक्ष मोतिराज सुनुवारले गायकको रुपमा उदाएका छन् ।

मजदुर संगठनबाट राजनीतिमा उदाएका सुनुवार पछिल्लो समय औजार दैनिक पत्रिका प्रकाशनको नेतृत्वमा छन् । तत्कालीन एमालेसम्बद्ध सुनुवारले करिब दुई बर्षअघि स्थानीय चुनावको बेला सामाजिक सञ्जालमार्फत चुनावी अभियानको क्रममा गीत रचेर गाउन थालेका थिए । त्यही सृर्जनाको क्रमलाई निरन्तरता दिएका उनले भिडियोसहित आफ्नो रेकर्ड भएको पहिलो गीत सार्वजनिक गरेका छन् ।

आइतबार गोर्खा डिपार्टमेन्ट स्टोरको सभाहलमा आयोजिक एक कार्यक्रममा सुनुवारको म्युजिक भिडियो तथा गीत सुनमाया..सार्वजनिक गरिएको हो । समारोहमा प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, नेकपाका केन्द्रीय सदस्य धर्मराज निरौला,प्रदेश सांसद विना राई र संगीतकार विजय श्रेष्ठले उनको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । सभामुख भण्डारीले सुनुवार सामाजिक, राजनीतिक क्षेत्रमा सक्रिय, मेहनती र मिलानसार व्यक्ति भएको उल्लेख गर्दै सबै क्षेत्रमा नाम जस्तै मोति भएको पनि बताए । उनले गायन क्षेत्रलाई पनि अन्य क्षेत्रमा जस्तै निरन्तरता दिन शुभकामना व्यक्त गरे ।

IMG_8597

नेकपाका नेता निरौलाले गीत, संगीत र साहित्यले समाज परिवर्तनमा पनि योगदान पुर्याउने धारणा राख्दै राजनीतिमा पनि सौन्दर्यशास्त्रको ठुलो महत्व भएको बताए । उनले सुनुवारलाई द्धन्दात्मक भौतिकवादी सौन्दर्यशास्त्रलाई आफ्नो सांगीतिक सृर्जनामा प्रयोग गर्न सुनुवारलाई सुझावव दिएका थिए । ५८ बर्षीय गायक सुनुवारले नेपाली लोक भाकामा गीत गाएका छन् । उनलाई गायिक अम्बिका दुवाडीले साथ दिएकी छिन् । चुनावको बेला सामाजिक सञ्जालमा गएको देखेर, सुनेर प्रोत्साहन गरेपछि गीत रेकर्ड गर्ने अवस्थासम्म आइपुगेको गायक सुनुवारले बताए । ‘यो सबै साथीभाईकै प्रेरणाले गर्दा हो । अर्को गीत तिम्रै सम्झनाले पनि रेकर्ड हुने अवस्थामा छ,’सुनुवारले भने ।