धरान: जेष्ठ नागरिक मिलन केन्द्र,धरानले अन्तराष्ट्रिय जेष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाएको छ ।

धरान १२ को गीता भवनमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकहरुको अवस्था, समस्या, भोग्नु परेका पिडा, बनेका कानुन र समाधानको उपायका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारीले जेष्ठ नागरिकहरुको अनुभव र विज्ञतालाई नगर विकासका क्षेत्रमा सदुपयोग गर्ने र जेष्ठ नागरिकका लागि वार्षिक कार्यक्रम तय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । संयुक्त राष्ट्र संधको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष जुन १५ तारिखमा विश्वभर मनाउने गरिन्छ ।

आफ्नो धर्म संस्कृति विर्सदै जादा र पाश्चात्य संस्कार र संस्कृतिको अनुसरण गर्दा परिवारबाट जेष्ठ नागरिकहरु प्रत्यक्ष र अप्रत्यक्षरुपमा दुव्र्यवहारमा परेको केन्द्रका सदस्य प्राध्यापक हरिबहादुर विष्टले व्यक्त गरे । सरकारले जेष्ठ नागरिकहरुका लागि विभिन्न सुविधा दिएपनि व्यवहारमा लागु हुन नसकेको केन्द्रको उपध्यक्ष कुमार बहादुर कार्कीको कथन थियो । जेष्ठ नागरकको हक हितका लागि कार्यरत धरान जेष्ठ नागरिक मिलन केन्द्रले वडा वडामा सदस्यहरु वनाउने, विभिन्न समिति र उपसमिति बनाएर काम गर्ने विचार केन्द्रकी अध्यक्ष सरला कायस्थले बताइन् ।