उदयपुरः पढाई भइरहेको बेला आइतबार क्याम्पसमा कक्षा कोठाभित्रै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा उदयपुर जिल्लामा पत्रकारसहित ४ जना पक्राउ परेका छन् ।
विद्यार्थी कुटेको आरोपमा उदयपुरका पत्रकार देवराज राईसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । आइतबार पक्राउ परेका उनीहरुलाई आज सोमबार इलाका प्रहरी कार्यालय बेल्टारले म्याद थपसमेत गरिसकेको छ । आरोपितहरुले चौदण्डीगढी नगरपालिका ६ स्थित ज्योती बहुमुखी क्याम्पसमा बि.एड.प्रथम बर्षमा अध्ययनरत अजय राईलाई कक्षा कोठामा नै कुटपिट गरेको आरोप छ । घटनापछि क्याम्पसले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएको थियो ।

दिउँसो करिब ४ः ३० बजे कक्षा सञ्चालन भइरहेको समयमा विद्यार्थी राईमाथि कक्षमा नै पुगेर कुटपिट भएको बताइएको छ । शिक्षक द्रोण पराजुलीले पढाई राखेको अबस्थामा एक्कासी पत्रकारहरु कक्षा कोठामा पसि बिद्यार्थीमा माथि कुटपिट गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक गंगा पौडेलले बताए । ‘कक्षा सञ्चालन भइरहदा एक्कासी प्रवेश गरेर कुटपिट गर्ने र शैक्षिक बातावरण धमिल्याउने काम भएको छ,’पौडेलले भने,‘खबर आएपछि तत्काल पक्राउ गरी सार्वजानिक हित, शान्ति तथा स्वास्थ्य विरुद्ध अपराध मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेका छौं ।’
पक्राउ पर्नेहरुमा देवराजसँगै चित्रकुमार कार्की, रमिला बस्नेत र शिव रोइला छन् । पक्राउ परेका पत्रकार देवराज पत्रकार महासंघ उदयपुरका साधारण सदस्य हुन् भने गाईघाटबाट प्रकाशित हुने त्रियुगा एक्सप्रेस दैनिकका कार्यकारी सम्पादकसमेत हुन् । अर्का, कार्की उदयपुरबाटै प्रकाशन हुने उदयपुर सिम्रिक दैनिकका कार्यकारी सम्पदक र उल्टो मोटरसाइकलयात्री हुन् । बस्नेत पनि आफुलाई पत्रकारकै रुपमा चिनाउदै हिड्ने गर्छिन् । उनी हेण्डवल खेलाडी र मिस प्रदेश १ की विजेता हुन् । कार्की र बस्नेत पत्रकार महासंघमा आवद्ध छैनन् । पक्राउ परेका रोईला पत्रकारितासँग सम्बन्धित व्यक्ति होइनन् । उनीहरुले किन कुटपिट गरे भन्ने रहस्यमै छ ।
पत्रकार महासंघद्वारा निलम्बन
विद्यार्थी कुटपिट प्रकरणमा पक्राउ परेका देवराज राईलाई नेपाल पत्रकार महासंघ उदयपुर शाखाले निलम्बन गरेको छ । शाखा अध्यक्ष भरत खड्का र सचिव पशुराम थापाले आज एक विज्ञप्ति जारी गर्दै साधारण सदस्य राईलाई निलम्वन गरेको घोषणा गरेको हो ।
घटनामा संलग्न पात्रहरुमध्ये चित्र कार्की, रमिला बस्नेत महासंघको सदस्य समेत नरहेको विज्ञप्तीमा उल्लेख छ । साथै, महासंघको साधरण सदस्य देवराज राईलाई नेपाल पत्रकार महासंघको विधानको दफा ३२ अनुसार पत्रकार आचारण विपरित कार्य गरेकाले अनुसन्धानलाई सहयोग पु¥याउनको लागि साधरण सदस्यता निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘एउटा जिम्मेवार त्यसमा पनि समाजको ऐनाकोरुपमा स्थापित पत्रकारबाट यो सम्मको गलत हर्कतप्रति हामी दुःखी छौं, हामी विधिको शासन स्थापित हुनुपर्छ भन्नेमा दृढ छौं । यसकारण कानुन हातमा लिई गरिने कुनै पनि गैरकानुनी क्रियाकलाप पत्रकार होस वा अन्य कोहीबाट होस्, त्यो कदापी स्वीकार्य छैन,’महासंघले जारी गरेको विज्ञप्तीमा भनिएकोछ,‘घटनाको निष्पक्ष छानबिन गरी यथार्थ जानकारी ल्याईदिन समेत सम्बन्धित निकायसँग अपिल गर्दछौं ।’