धरान:चार दिनअघि(असार १ गते) धरान ११ वरपिपल चोकबाट राती सुतिरहेको बेला मोवाइल र पैसा चोरी गर्ने एक पक्राउ परेका छन् ।
प्रहरीले चोरीको मोवाइलसहित धरान ११ कै ३९ बर्षीय बुद्धिराज भन्ने टिकाराम राईलाई हिजो पक्राउ गरेको हो । उनको साथबाट चोरीको मोवाइल रेडमी नोट फाइभ पनि वरामद भएको प्रहरीले जनाएको छ । यो मोवाइलको मुल्य करिब ३९ हजार रहेको छ । उनले सोही वडाका वरपिपल चोकका २३ बर्षीय अविसोर राईको कोठाबाट मोवाइल र नगद चोरी गरेका थिए । प्रहरीका अनुसार पक्राउ परेका राईले बेडको सिरानी मुनि राखेको मोवाइल र नगद २१ हजार चोरी गरेका थिए ।
घटनापछि पीडित अविसोरले प्रहरी कार्यालयमा हुलिया निवेदन दिएका थिए । खोजतलासको क्रममा टिकाराम राईले चोरी गरेको खुलेपछि उनलाई हिजो बुधबार चोरीको मोवाइलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनलाई चोरी मुद्दामा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।