भद्रपुर : साथीहरूसँग मावा खोलामा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा दमक नगरपालिका ४ बस्ने मनबहादुर माझीको २३ वर्षीय छोरा रामबहादुर माझी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार घरदेखि पाँच सय मिटर टाढा रहेको मावा खोलामा माझीसहित ४,५ जना साथीहरू आइतबार दिउँसो पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा माझी डुबेर बेपत्ता भएको खबर अस्थायी प्रहरी पोस्ट ताराबारीलाई स्थानीयले जानकारी गराएका थिए । खोलामा बेपत्ता भएका माझीलाई नभेटाएपछि बिपद व्यवस्थापन कार्यालय भद्रपुरमा कार्यरत प्रहरी जवानद्धय मिलन फेन्दुवा (लिम्बु) र गोविन्द यादवले उनको शव खोलाको खाल्डोबाट निकालेका थिए । मृतक माझीको शवलाई पोस्टमार्टमका लागि मोरङ पठाएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।