लहान : सिरहा प्रहरीले विशेष सुकीको आधारमा धनगढीमाई नगरपालिका–१०, श्यामपुरबाट भारी परिमाणमा लागूऔषध चरेससहित दुई जनालाई आइतबार राती पक्राउ गरेको छ ।

पक्राउ पर्ने धनगढीमाई नगरपालिका ११ का रामभगत महतो र सोही नगरपालिका वडा नम्बर १२ का रामेश्वर महतो रहेको सिरहा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जनाएको छ ।
१७ वटा प्याकेटमा प्याक करिब साढे आठ किलो चरेससहित सिरहा प्रहरीले महतोद्वयलाई पक्राउ गरेको हो । प्रहरीले जिल्लामा यति ठूलो परिमाणमा पहिलोपटक चरेस बरामद गरेको हो । पक्राउ परेका महतोद्वयलाई थप अनुन्धानको लागि जिल्ला अदालत सिरहाबाट म्याद थप गरिएको जनाइएको छ ।

सिरहाको लहान, धनगढी, गोलबजार मिर्चैया र उदयपुरको गाईघाट र कटारी क्षेत्रका लागूपदार्थ सेवनकर्ताको लागि नेपालको पूर्वी नाकाबाट चरेस भित्रिने गरेको प्रहरीले जनाएको छ ।