धरान : धरान ८ नं. वडा कार्यालयको सहयोग तथा टीम नेपालको आयोजनामा स्थानीय तहको योजना तर्जुमा प्रशिक्षण सम्पन्न भएको छ ।
सोमबार र मंगलबार संचालित प्रशिक्षण हिमाली समुदायिक वन उपभोक्ता समूहको हलमा संचालन भएको थियो । धरान उपमहानगरपालिकालाई समृद्ध शहर बनाउन धरानको प्रत्येक वडाहरुको योजना छनौट प्रकृया प्रभावकारी हुन जरुरी भएकोले यस तालिमको आयोजना गरिएको वडा सदस्य प्रेम बहादुर तामाङ्गले बताए ।

नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तय गरेको निर्देशिका बमाजिम तालिम आयोजना गरिएको तालिमका प्रशिक्षक मोहन श्रेष्ठले जानकारी दिए । विकास योजनाको अवधारणा, विकासक्रम र संवैधानिक कानुनको व्यवस्था साथै स्थानीय तहको वार्षिक योजाना र बजेट आदि प्रशिक्षणको प्रमूख विषय रहेको वडाका सामाजिक परिचालक अनिता राईले बताए ।
वडाको विभिन्न टोल विकास संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको तालिममा १५ वटा टोल विकास संस्थाका ४५ जना सहभागी भएका थिए । प्रशिक्षणका लागि मात्र नभएर सिकाई र उपलब्धीका लागि हुनु पर्ने भएकाले आफुहरुले प्रशिक्षणको वातावरण, सहभागी छनौट प्रकृया, सहजिकरण र व्यवस्थापनलाई प्रभावकरी बनाएको आयोजक संस्था टीम नेपालका अध्यक्ष दोर्पध्वज राईको कथन थियो ।
तालिममा वडा कार्यालयका सदस्यहरु र कर्मचारीहरुको विशेष उपस्थिति रहको थियो । प्रशिक्षणलाई सहभागितामुलक र प्रयोगात्मक बनाईएकोले रमाईलो वातावरणमा धेरै कुरा बुझ्न र सिक्न पाएको सहभागीहरुले प्रतिकृया दिएका थिए ।