बिराटनगरः प्रदेश नं १ को छुट्टाछुट्टै स्थानमा चट्याङले लागेर बुधवार ४ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
दिऊँसो पौने ३ बजे मोरङको रंगेली नगरपालिका ९ दोहमना बजार छेउमा चट्याङ लागेर स्थानीय १४ बर्षीय अभत ऋषिदेव र १५ बर्षीय अनिल ऋषिदेव गम्भीर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि रंगेली अस्पताल पठाईएकोमा उपचारको क्रममा पौने ४ बजे दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको बाह्रदशी गाउँपालिका ५ का स्थानीय ५२ बर्षीय दुर्गा प्रसाद ओली र ६० बर्षीय पर्शुराम पाठक ओलीकै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर दुबै जना घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि बि.एण्ड सी.अस्पताल लगिएकोमा उपचारको क्रममा पाठकको मृत्यु भएको थियो । अर्का घाईते ओलीको सोही अस्पतालमा उपचार भईरहेको छ ।
त्यसैगरी झापाकै कचनकवल गाउँपालिका २ बस्ने ३१ बर्षीया भुमा गाईने घर नजिकै बारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागि घाईते भएकी छन् । निजको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भईरहेको छ ।
यता सुनसरीको बराहा नगरपालिका ९, श्रीलंका टापुमा चट्याङ लागेर बिष्णु उराँवको ६ बर्षीय छोरा अभिषेक उराँवको घटनास्थलमा नै मृत्यु भएको छ । निजकै छोरी ४ बर्षीय पुष्पा उराँव घाईते भएकी थिईन् । घाईतेको स्थानीय क्लिनिकमा उपचार पश्चात डिस्चार्ज भईसकेको छ भने मृतकको शव परिक्षणको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।