धरान: धरानका ९ नं वडा कार्यलयको आयोजनामा टोल विकास संस्थाहरुको अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा ९ नं वडाका ५ वटा टोल विकास संस्थाहरु आफ्नो वडालाई बाल मैत्री वडा वनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार होटल नवयुग धरानमा सम्पन्न कार्यक्रममा टोल विकास संस्था, बाल संजाल, वडा जनप्रतिनिधिहरु तथा विभिन्न समितिका प्रतिनिधिहरु गरी ४५ जना सहभागी भएका थिए । युवा दृष्टी समाजको व्यवस्थापनमा सम्पन्न प्रशिक्षण सहभागितामुलक र प्रयोगात्मक विधि अपनाई संचालन गएिको थियो ।

धरान ९ नं वडाका अध्यक्ष रत्न कटुवालले वडाले संचालन गर्ने प्रत्येक विकास निर्माणको काममा वडाबासीहरुको बढी भन्दा बढी सहभागिता र अपनत्व विकास गराउन यस्ता अभिमुखिकरण तथा तालिमले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । उनले आफ्नो वडालाई साउन भित्र नै बाल मैत्री वडा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे । वडा नं ९ लाई बाल मैत्री वडा घोषणा गर्ने काममा टोल विकास संस्था लगायत सरोकारबालाहरुको सहभागिता बढाउन यस तालिमको आयोजना गरिएको वडा सदस्य तथा बाल मैत्री वडा घोषणा संयाजक शरद् रत्न पार्थिवले वताए ।
धरान उपमहानगरपालिकाले धरान नगरलाई बाल मैत्री नगर घोषणा गर्ने लक्ष्य लिएर २० वटै वडाहरुमा कार्यक्रमहरु संचालन गरिरहेको छ । हाल सम्म धराका वार्ड नं। १३, १४, २० १९ र १२ गरी जम्मा ५ वडा बालमैत्री वडा घोषणा भई सकेको छ । अन्य धेरै वडाहरुपनि बाल मैत्री वडा घोषणा गर्नका लागि आवश्यक पूर्वाधारहरु पुरा गर्ने क्रममा रहेको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । तालिममा समुदाय परिचालनमा टोलिकास संस्थाको भुमिका, बाल मैत्री स्थानिय शासन, बाल मैत्री वडा घोषणाका लागि आवश्यक सुचक तथा प्रकृया साथै टोल विकास संस्थाको निर्देशिकालाई प्रमूख विषयबस्तु बनाईएको थियो ।
वडा सदस्य सविना शाक्यले वडाले गर्ने प्रत्येक विकास निर्माणको कार्यमा टोल विकास संस्थालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । तालिममा वडा सदस्य मनोजकुमार राउत, रिचा शंकर र वडा सचिव रन्जु भुजेल, कर्मचारी देवकी वजगाई लगायत पनि उस्थिति रहको थियो । तालिममा टोल विकास संस्थाको कार्यविधि र बाल मैत्री कृयाकलाप तथा बाल मैत्री वडा घोषणा सम्बन्धी पनि व्यापक चर्चा गरिएको थियो ।