पथरी: राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिको लगानीमा मोरङ्गको पथरीशनिश्चरे २ र ३ स्थित वक्राहा खोलामा तटवन्धन गरिएपछि त्यसक्षेत्रका बासिन्दाहरुले नदी कटानको पीडाबाट मुक्ति पाउने आशा राखेका छन् ।
वक्राह खोलाको कसेनीमा तटवन्धन गरिएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिको ७२ लाख रुपयाँ र स्थानीयवासीको अन्य थप रकमबाट सो तटवन्धन गरिएको हो । तटवन्धन पछि यहाका स्थानियवासीले वक्राहा खोलाको पीर सहनु नपर्ने आशा राखेका छन् । स्थानियवासीको समेत लगानीमा निर्माण गरिएको यो तटवन्धनवाट स्थानियवासी सुरक्षित हुने र राहत भएको स्थानिय राजकुमार लिम्वुको भनाइ छ । कुल १५० मिटर लम्वाइको वाधमा जालीमा ढुङ्गा छापीएको छ । भुइमा १२ मिटर चौडाइको लङ्गजीङ्ग जाली लगाइएको छ भने ४.५ मिटर अग्लो वाध बाधेर ५ मिटर चौडाइको बाटो समेत बनाइएको छ ।
मापदण्ड अनुसार नै तटवन्धन कार्य गरिएको र यसले यहाँका स्थानियवासीलाई बाढीको त्रासबाट मुक्त गर्ने उपभोक्ता समितिका सचिव हर्कराज लिम्वु वताउछन् । तटवन्धन भएपछि वाढीको त्रासमा रहेका पथरीशनिश्चरे २ को कसेनी, वडा ३ को टप्पु टोल र सन्थाल वस्ती सुरक्षित हुने छ । करिव १०० विगाह जग्गा तटवन्धन पछि सुरक्षित भएको र खेतीबाट यहाका बासिन्दाले थप उव्जिनी लिनसक्ने उपभोक्ता समितिका सदस्य अर्जुन खत्री बताउछन् । कसेनी क्षेत्रवाट सुरु गरिएको तटवन्धनलाई क्रमश पथरीशनिश्चरे क्षेत्रमा पर्ने वक्राहा खोला क्षेत्रमा आगामी दिनमा थप तटवन्धन गरिने वडा अध्यक्ष यामप्रसाद गुरागाइ वताउछन् ।
तटवन्धनसंगै वाटो निर्माण गरिएपछि यसलाई निरन्तरता दिन सके यही बाटोमा सवारी साधन समेत सन्चालन गर्न सकिन्छ । वर्षैदेखी वक्राहा खोलाको कटान र बाढीबाट पीडित बनेका यहाँका स्थानीयबासी तटवन्धन भएपछि खुसी समेत देखिएका छन् ।








































































