झापा : तीन दिनदेखि लगातार बर्षा भइरहे पनि नदीहरुमा पानीको सतह खतराको तहसम्म नपुगेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ।

शाखाको बाढी पूर्व तयारी कार्यक्रमका संयोजक हरिशरण खड्काका अनुसार अहिलेसम्म झापाको मध्य भाग भएर बग्ने झापाको सबभन्दा ठूलो नदी कन्काईमा पनि पानीको सतह खतराको तहसम्म पुगेको छैन । खड्काले भने,'अहिलेसम्म खतराको तहसम्म पुगेको छैन। इलाममा राखिएका बर्षाका मापन केन्द्रमा पनि आकाशको पानी खतराको तहमा पुगेको छैन।'

उनका अनुसार २४ घन्टामा १ सय ४० मिलिमिटर बर्षा भयो भने नदीहरुमा पानी सतह खतराको तहसम्म पुग्नसक्छ। तर अहिले २४ घन्टामा १ सय १० मिलिमिटर मात्र बर्षा भएको उनले बताए । खड्काले भने,'अहिले इलामका चार स्थानको बर्षाको मापन गर्दा १ सय १० मिलिमिटर मात्र बर्षा भएको छ। अब बर्षा बढ्यो भने नदीहरुमा पानीको सतह बढ्नसक्छ। त्यसैले सुरक्षित रहन जरुरी छ।'

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्लामा बर्षाका कारण अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन। झापा गाउँपालिका १ मिलन बस्तीमा पानी जमेको भए पनि मानिस विस्थापित हुन नपरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।

तयारी अवस्थामा रहन प्रजिअको आग्रह

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गाउँपालिका र नगरपालिकाहरुलाई साउन र भदौ महिनाका लागि ढुङ्गा चलाउन जान्ने र परेका बेला उद्धारमा खटाउन सकिने तालिमप्राप्त व्यक्तिहरुलाई तलब नै दिएर राख्न स्थानीय तहहरुलाई आग्रह गरेका छन् ।

प्रजिअ दाहालले डुबान र बाढीको उच्च जोखिम रहेका स्थानका बासिन्दालाई स्थानान्तरण गर्नुपरेमा आश्रय स्थलसमेत तयारी अवस्थामा राख्न अनुरोध गरे । झापामा सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनासमेत बाढी र डुबानमा परेका नागरिकलाई उद्धार गर्नका लागि तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिएका छन्।