उदयपुर : उदयपुरका २ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका छन् ।
त्रियुगा नगरपालिका ९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका ४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । शनिवार दिउँसो १ बजेको समयमा जंगली बिषादी च्याउ खाएर राजावासका ४० बर्षीय चित्र बहादुर दनुवार, उनको श्रीमति ३८ बर्षीया फुलमाँया दनुवार, छोरा बर्ष २० को अनिश दनुवार, ११ बर्षीय मनिष दनुवार र १७ बर्षीया रबिना दनुवार बिरामी परेका हुन् ।
यसैगरी, कटारी सिसाघारीकी ३५ बर्षीया टंक कुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा टंककुमारीसहित निजको छोराहरु १४ बर्षीय अनिष दनुवार र ११ बर्षीय महेन्द्र दनुवार तथा ९ बर्षीया छोरी सुजिता दनुवार बिरामी भएका छन् भने छिमेकी २० बर्षीय गंगाकुमारी तामाङ, १९ बर्षीय लक्ष्मी तामाङ र १७ बर्षीय समिता तामाङसमेत बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । निजहरु सबै जनाको बिराटनगरको नोबेल अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।