धरान : गत फागुन १० र ११ गते धरानमा सम्पन्न ‘दोस्रो नेपाल च्याम्पियन खुल्ला राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिताको आय–व्याय सोमबार सार्वजनिक गरिएको छ ।
धरान–१८ बुद्धचोकस्थित ह्याप्पी ग्रिनमार्टमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्था एलाइनेट जिम धरानले दोस्रो संस्करणको प्रतियोगिताको आय–व्याय सार्वजनिक गरेको हो । एलाइनेटको यो १६ औं प्रस्तुति थियो भने नेपाल च्याम्पियन दोस्रो संस्करण हो । संस्थाका कोषाध्यक्ष केशब श्रेष्ठले आय–व्याय सार्बजनिक गदै दोस्रो संस्करणको प्रतियोगितामा २ लाख ३७ हजार ७ सय ८५ रुपैयाँ घाटा भएको जनाए । उनले आयतर्फ ५ लाख ९२ हजार रुपैयाँ र व्यायतर्फ ८ लाख २९ हजार ७ सय ८५ रुपैया रहेको समेत बताए ।
आयोजक संस्थाका अध्यक्ष विक्रम लिम्बुले सोचे जस्तो सहयोग जुट्न नसक्दा घाटा खेप्नु परेको बताए । ‘स्पोञ्चर सोच जस्तो पाएनौं, सबैबाट आश्वासन दिए अनुसारको सहयोग पाएनौं त्यसैले घाटा खानु पर्यो’ उनले भने ‘इनडोर कार्यक्रम भएकोले व्यापारीक कम्पनीको प्राथमिकतामा परिएन ।’ तर आयोजकले घाटा खेपे पनि कार्यक्रम सफल रुपमा सम्पन्न भएको भन्दै उनले खुशी व्याक्त गरे । प्रतियोगितामा देशभरका २६ जना बडिबिल्डर्सहरुले सहभागीता जनाएका थिए ।
अध्यक्ष लिम्बुले पहिलो संस्करणमा पनि १ लाख बढी घाटा ब्याहोरे बताउदै यसरी घाटा खाएर भएपनि प्रतियोगितालाई निरन्तरता दिदै जाने बताए । उनले शारीरिक सुगठन प्रतियोगितालाई निजी स्तरबाट र राज्यले पनि त्यति प्राथमिकतामा नराख्दा बडिबिल्डिङ खेलको विकास हुन नसकेको बताए । इन्डोर कार्यक्रम भएको कारण पनि स्पोञ्चर राम्रो पाउन नसकिएको उनको बुझाई छ । ‘इन्डोर कार्यक्रम भएकोले व्यापारीक कम्पनीहरुले स्पोञ्चर गर्न मान्दैन, खाली फुटबल, क्रिकेट खेल जस्तो खोज्छन् ।’ उनले भने ‘बडिबिल्डिङ खेललाई व्यावसायिक कसरी बनाउने ? भन्ने चिन्ता छ ।’
उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि कुनै सहयोग नगरेको भन्दै गुनासो पोखे । ‘रोखपले १ लाख जती दिन्छकी भनेको एक रुपैयाँ पनि दिएन’ उनले भने ‘राखेपले बडिबिल्डिङलाई खेलको रुपमा स्विकारर्न सकेको छैन ।’
उनले उपत्यकामा मात्र सिमित रहेको शारीरिक सुगठन प्रतियोगितालाई अन्य जिल्लाहरुमा पनि विकास गदै लाने नेपाल फेडेरेशन अफ बडिबिल्डिङ एशोसिएसन केन्द्रको मुख्य उद्देश्य रहेको समेत उनले बताए । लिम्बु एशोसिएसनको केन्द्रीय सदस्य समेत हुन् । मोफसलमा पनि विकास गदै लाने उद्देश्यले प्रतियोगिताको आयोजना गदै आएको लिम्बुले बताए । ‘बडिबिल्डिङ त्यसै पनि महंगो खेलमा पर्छ, खेलाडीले पनि धेरै खर्च गर्नुपर्ने पर्छ, क्लवलाई शुल्क बुझाउनेदेखी आफुले डाइट खानुपर्यो’ उनले भने ‘राज्यले यसरी बेवास्ता गर्यो भने हामी कसरी व्यावसायिक बन्ने ? ।’
प्रतियोगिता अझै भब्य बनाइने
एलाइनेट जिमले १७ औं प्रस्तुति अन्तर्गत तेस्रो संस्करण आगामी फागुन पहिलो साता गर्ने जनाएको छ ।
प्रतियोगितामा पहिलो र दोस्रो संस्करणमा घाटा ब्याहोर्नु परेपनि अझ भब्य रुपमा आयोजना गर्ने लिम्बुले जनाए । उनले पुरस्कार राशीमा समेत बृद्धि गर्ने बताए । प्रथम पुरस्कारमा एक लाख रुपैयाँ बृद्धि गरेर कुल २ लाख ५० हजार बनाइने भएको छ । दोस्रो संस्करणसम्म १ लाख ५० हजार रुपैयाँ दिइएको थियो ।


































































