धरान: निरन्तर बर्षासँगै गएको पहिरोले घर बगाएपछि विस्थापित हुन पुगेका धनकुटाको साँगुरीगढी गाउँपालिका ५ स्थित फाक्सिपका एक परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
विस्थापित भएका गुरु चेम्जोङलाई धरानमा बसोबास गरिरहेका चेम्जोङ वंशहरुले आर्थिक सहयोग संकलन गरेर सहयोग गरेका हुन् । धरानमा रहेका चेम्जोङहरुबाट संकलन गरेको ५१ हजार ५ सय ७० रुपैया बुधबार हस्तान्तरण गरिएको थियो । यो रकम थाक्थाकु मावोहाङ चेम्जोङ वंश उत्थान संघ धरान नगर कमिटि र संघका केन्द्रीय सदस्य सुमन चेम्जोङको पहलमा आर्थिक संकलन गरिएको थियो ।
निरन्तरको बर्षा र पहिरोले गत असार २९ गते गुरु चेम्जोङको घर बगाएर क्षति पुगेको थियो । पहिरोले घर बगाएर विस्थापित भएपछि उनको परिवार धरानमा आफन्त(दाई)को घरमा बसिरहेको थाक्थाकु मावोहाङ चेम्जोङ वंश उत्थान संघ धरानका सचिव हरेन्द्र चेम्जोङले जानकारी दिए । संघका नगर अध्यक्ष नरेन्द्र चेम्जोङको अध्यक्षमा भएको कार्यक्रममा संघका भूपू सुनसरी जिल्ला अध्यक्ष बसन्त चेम्जोङले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।