झापा: चाडपर्व नजिकिएसँगै झापामा चोरी–तस्करी बढ्दै गएको छ ।
दैनिकजसो झापाका सीमावर्ती क्षेत्रमा भन्सार छलेर अवैध रुपमा आयात गरिएका सामान बरामद हुन थालेका छन् । अन्य समयभन्दा चाडपर्वका बेला खाद्यान्न, लत्ताकपडा लागायतका दैनिक प्रयोग हुने आवश्यक सामग्रीको माग बढी हुन्छ । छोटो समयमा बढी कमाउने धाउन्नमा लागेका तस्करहरुले चाडपर्वलाई कमाउने मलिलो सिजनका रुपमा लिने गरेका छन् । नियमनकारी निकायसँग साँठगाँठ गरेर भए पनि यो बेलामा अवैध आयातलाई अन्य समयको तुलनामा कयौँ गुणा बढी बनाइने गरेको जानकारहरु बताउँछन् ।
यसैबीच, झापाको मेचीनगर नगरपालिका–६ बाट १ लाख ५२ हजार बराबरको अबैध सामान बरामद भएको छ । इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका कपडा तथा किराना समानहरु बरामद गरेको हो । बरामद भएको अबैध सामान आवश्यक कारवाहीको लागि आज मेची भन्सार कार्यालय बुझाईने उक्त कार्यालयले जनाएको छ ।