सुनसरी : इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको अस्थायी संरचना र राखिएका समाग्रीहरु हटाउने भएको छ ।

सडक शुसासन कायम गर्न पूर्व पश्चिम सडकको लविपूर चौकदेखि रामधुनी नगरपालिकाको सिमासम्म सडकको दायाँ वाँया साढे ८२ फिट क्षेत्रमा रहेको संरचना तथा सामग्रीहरु हटाउन लागेको हो । सडक सुशासन अभियान सुरु गर्नु अघि उपमहानगरले आज आइतबार सम्वन्धित विषयगत कार्यालय र सबै सरोकारवाला पक्षसँग छलफल गरेको थियो । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको हो ।

कार्यक्रममा सडक डिभिजन कार्यालय, टेलिकम, विद्युत, यातायात, उद्योग वाणिज्य संघ, जनप्रतिनिधिहरुको सहभागिता थियो । एक सातासम्म हटाउन अनुरोध गर्ने र नहटाएमा उपहानगरले आफै हटाउने नगरप्रमुख द्धारिकलाल चौधरीले बताए । कार्यक्रममा नगरप्रमुख चौधरीले सडक शुसासन अभियानमा सहयोग गर्न सवै पक्षसँग आग्रह गरेका थिए । सडकको अधिकार क्षेत्र साढे ८२  फुट भित्र रहेका संरचना हटाउन उनले आग्रह गरे ।

itari

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजालले समेत सडक शुसासन प्रदेश सरकारको पनि एउटा मुख्य अभियान रहेको बताए । मेयर चौधरीले सडक क्षेत्राधिकार भित्र केही पनि सामान नराख्ने वातावरण वनाउन उद्योग वाणिज्य संघसँग समेत आग्रह गरे ।

 विद्युत प्राधिकरणका प्रतिनिधिले भने विद्युतका पोल हटाउन विद्युत प्राधिकरणले सहयोग गर्ने तर त्यसवापत लाग्ने शुल्क स्थानीय तहले नै ब्यहोर्नु पर्ने जिकिर गरेका छन् । इटहरी उपमहानगरले गत साल भदौमा एक हप्ता लगाएर वुढिखोलादेखि पचरुखीसम्म सडक क्षेत्राधिकार क्लियर गरेको थियो ।