धरान: धरानका अग्रज चित्रकार ५३ वर्षीय स्वयंप्रकाश श्रेष्ठको निधन भएको छ ।

काठमाण्डौंमा उपचारको क्रममा उनको हिजो निधन भएको हो । श्रेष्ठको आज नै पशुपति आर्यघाटमा अन्तिम दाहसँस्कार गरिएको छ । श्रेष्ठ फोक्सोको क्यान्सरबाट पीडित रहेको परिवार निकटले जानकारी दिएको छ । उनी धरान १, पुरानो बजारका बासिन्दा हुन् ।

श्रेष्ठले आफ्नै घरमा स्वयम आर्ट ग्यालरी खोलेका थिए भने नयाँ पुस्ताका कलाकारहरु जन्माउन प्रशिक्षण दिने र पढाउने पनि गरेका थिए । उनी पुर्वाञ्चल कला केन्द्रका अध्यक्ष पनि थिए । केही साताअघि मात्र उनलाई प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको थियो । अमुर्त चित्रकलामा उनको दख्खल थियो । उनको असामयिक निधनले कलाकारिता क्षेत्रसँगै धरानेहरु पनि स्तब्ध भएका छन् । सामाजिक सञ्जालमा श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ ।