ओखलढुंगा : आत्महत्या दुरुत्साहन आरोपमा ओखलढुंगामा एक युवा पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा सोही ठाउँका युवराज कार्की पक्राउ परेका हुन् । कार्की विरुद्ध प्रहरीले मुद्दा दर्ता गरिसकेको छ । ओखलढुंगा जिल्ला अदालतमा दर्ता भएको आत्महत्या दुरुत्साहनको यो दोस्रो मुद्दा हो ।
करिब तीन महिना अघि गोमाले घरकै कोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन् । आत्महत्या गर्नुअघि उनले ‘मेरो फेक आईडी बनाएर मलाई बदनाम गराउनेलाई कारबाही गरे मात्र मेरो आत्मालाई शान्ति मिल्नेछ’ भनेर लेखिएको सुसाइड नोट फेला परेको थियो । मृतकको परिवारले फेक आईडी खोलेर बदनाम गराएर आत्महत्याका लागि दुरुसाहन गरेको भन्दै उनको खोजी गरिदिन प्रहरीलाई आग्रह गरेका थिए ।

सुसाइड नोटमा लेखिएको अक्षर विधिविज्ञान प्रयोगशालमा परिक्षण गर्दा गोमाकै भएको पुष्टि भएपछि प्रहरीले फेक आईडी बनाउनेको खोजी गरेको थियो ।
प्रहरीको अनुसन्धानबाट युवराजले नै आत्महत्या दुरुत्साहन गरेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । फेक आईडी कार्कीले नै बनाएको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ । कार्कीले प्रहरीसँगको बयानमा गोमा टाढिन खोजेपछि फेक आईडी खोलेर बदनाम गरेको स्विकारेका छन् । नयाँपत्रिका