उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका ३ हात्तिसारमा गोरु काटेकोको आरोपमा बाबु छोरासहित चार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गोरु काट्दै गरेको आरोपमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार स्थानीय ५० वर्षीय रामप्रसाद राई, उनका २५ वर्षीय छोरा प्रमीन राई, २१ वर्षीय मनिष राई र ५६ वर्षीय रामकुमार राई पक्राउ परेका छन् । ‘मासु खाने र बिक्री प्रयोजनका कालो रंगको गोरु काटेको सूचनाको आयो’, उनले भने, ‘चारै जनालाई आइतबार अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ अन्तर्गत पशुपंक्षीसम्बन्धी कसुरको दफा २८९ को गाई मार्न वा कुटन नहुने अभियोगमा मुद्दा चलाइएको छ । मुलुकी अपराध संहिता अनुसारको गाई वा गोरु मार्न वा कुटन नहुने कसुर गर्नेलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ । पक्राउ परेका व्यक्तिको साथबाट १०६ केजीको गोरुको मासु समेत बरामद गरिएको र जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले जानकारी दिए ।