धरान: चाडपर्व नजिकिदै गर्दा धरानमा बजार अनुगमनलाई तिब्रता दिइएको छ ।

धरान उपमहानगरपालिकाको नेतृत्वमा गत शुक्रबारदेखी अनुगमन शुरु भएको हो । एक सातमा ४४ वटा विभिन्न पसलको अनुगमन गरिएको अनुगमन अधिकृत एबंम धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका बरिष्ठ कबिराज रामबाबु यादबले जानकारी दिए । उनका अनुसार अनुगमनको क्रममा किराना पसल, होटल, मिठाइ पसल, औषधि पसल, पाउरोटी उद्योगलगायत गरी ४४ वटामा अनुगमन गरिएको छ ।
अनुगमन गरिएको अधिकांस किराना पसलमा म्याद गुज्रिएका पेय पदार्थ, लेविलिङ नगरिएका खाद्य सामग्री जफत गरी नष्ट गरिएको उनले बताए । ‘हामीले अनुगमनको क्रममा किराना पसलमा म्याद नाघेको कोक, फेन्टा, ड््युउ, लेवलिङ नगरिएका चिप्स, थुक्पालगायत सामग्री जफत गर्यौं,’अनुगमन अधिकृत यादबले भने,‘जफत गरिएका सामग्री त्यही नष्ट गर्ने काम गरेका छौं ।’

bajar-anugaman1

सानो ठुलो गरी अनुगमनमा १४ वटा होटल, ७ वटा मिठाइ पसल र मडिकल पसल, किराना पसलहरुको अनुगमन गरिएको यादबले बताए । धरानको रेल्वे, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य प्रबेशद्वार छेवैको वीपी सुन्दर बजार, छाताचोकमा अनुगमन गरिएको थियो । त्यस्तै, वीपी प्रतिष्ठान हाताभित्र सञ्चालित ५ वटा क्यान्टिन र मेसको पनि अनुगमन गरिएको धरान उपमहानगर नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले बताए । ‘हामीले वीपी प्रतिष्ठान हाताभित्र सञ्चालित ५ वटा क्यान्टिन र मेसको पनि अनुगमन गर्यौं’उनले भने,‘पहिला भन्दा सुधार भएको पाएका छौं ।’

आज सातौं दिन लक्ष्मी चोक र रेडक्रस चोकमा सञ्चालित ४ वटा किराना पसलको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा म्याद गुज्रिएका कोक, फेन्टा, माउन्टेन ड्यउ साना ठुला ७२ वटा जफत गरी नष्ट गरिएको अनुगमन अधिकृत यादबले बताए । यसैगरी, अचार, दुध पाउडर, लेवलिङ नगरिएका घरेलु आलु चिप्स, थुक्पालगायतका खाद्य सामग्री जफत गरी नष्ट गरिएको थियो । अनुगमनका क्रममा पसलमा भेटिएको कमिकमजोरीलाई सुधार गर्नको लागि व्यावसायिहरुलाई सचेत गराएको र आगामी दिनमा पुनः त्यस्तै, कमिकमजोरी भेटिए कारबाही गर्ने चेतावनी समेत दिएको अनुगमन अधिकृत यादबले बताए । ‘हामीले चाडबाड नजिकियो भनेर अनुगमन गरेका हैनौं विगतको अनुगमनलाई निरन्तरता दिएका हौं,’उनले भने ।

bajar-anugaman2

नगरबासीले स्वास्थ्य खाद्यान्य उपभोग गरुन भन्ने हेतुले अनुगमनलाई तिब्रता दिइएको र आगामी दिनमा निरन्तरता दिदै जाने समेत दाबी गरे । ‘कर्मचारी समायोजनको कारणले अनुगमन रोकिएको हो, करिब ६ महिनादेखी अनुगमन अधिकृत छैन,’उनले भने,‘अब त्यस्तो हुदैन, अनुगमनलाई निरन्तरता दिन्छौं ।’ उनले विगतमा गरिएको अनुगमन र अहिले हप्ता दिनसम्म गरिएको अनुगमनबाट प्राप्त उपलब्धीको विषयमा छलफल गरेर नयाँ रणनीतिको साथ अनुगमनलाई निरन्तरता दिने जनाए ।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवाका खाद्य निरीक्षक श्रृजन जोशी, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारकी सह–प्राध्यापक बबिता अधिकारी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष कृष्ण ताम्राकार, वडा प्रहरी कार्यालय धरानका प्रहरी नायब निरिक्षक रबि लिम्बु, नगर प्रहरीलगायत थिए ।