इनरुवा: सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ७ घुस्कीस्थित धानखेतमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ।
घुस्कीका स्थानीय निवासी इलियास अन्सारीको धानखेतीमा नामथर ठेगाना नखुलेको करिब ४० पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । दिउँसो स्थानीय बासिन्दाले घाँस काटन गएको बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घुस्की प्रहरी चौकीका प्रहरी घटनास्थल पुग्दा उनको शव घोप्टो परेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माथिको कपडा खोलिएको थियो भने निलो रंगको जिन्स पेन्टलगाएको अवस्थामा शव भेटिएको थियो ।
मृतकको शरीर डढेको जस्तो कालो रहेको थियो । मृतकको शरीरमा तेजाब हालेको हुनसक्ने अनुमान स्थानीयबासीले गरेका छन् । शवको अवस्था हेर्दा हत्या गरेर फालेको स्थानीयको अनुमान छ । शव पोष्टमार्टमका लागि सुनसरी जिल्ला इनरुवा स्थित इनरुवा अस्पतालमा लगिएको जिल्ला प्रहरीले जनाएको छ । अस्पतालका अनुसार शवको पहिचान हुन नसकेकाले पोष्टमार्टममा केही समय लाग्नसक्छ ।