संखुवासभा: संखुवासभाको मकालु गाउँपालिका ६ की २६ बर्षीय शुकमाया राईको खोलाले बगाएर ज्यान गएको छ ।
गएको सोमबार उनलाई सिलिचोङ गाउँपालिका ५ र मकालु गाउँपालिका ६ को बीचमा पर्ने पोखुवा खोला तर्ने क्रममा अचानक आएको बाढीले बगाएको थियो । खोलले वेपत्ता भएकी शुकमायाको खोजतलास गर्ने क्रममा हिजो मंगलबार राती साढे ७ बजे शव फेला परेको प्रहरीले जनाएको छ । उनी आफन्तको घर गएर फर्कने क्रममा पोखुवा खोलाले बगाएको थियो । उनको शव मकालु गाउँपालिका ६स्थित पोखुवा दोभानमा भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
यसैगरी, सुनसरीको रामधुनी नगरपालिका ६ बक्लौरी बस्ने ३५ बर्षीय बिरेन्द्र साह खोलामा मृत अवस्थामा फेला परेका छन् । हिजो मंगलबार साँझ सेउती खोलामा साह पानीमा डुबेको अवस्थामा भेटिएको जानकारी प्रहरीलाई स्थानीयबासीले दिएका थिए । साँझ साढे ५ बजे अस्थाई प्रहरी बिट पंचायनले जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय पकलीबाट पनि प्रहरी टोली घटनास्थलमा खटिएको र कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।