पाँचथर: नेपाल पत्रकार महासंघ शाखा पाँचथरको भवनको निर्माण भइरहेको छ ।
फिदिम नगरपालिकाले उपलब्ध गराएको १२ आना जमिनमा ३ तले भवनको निर्माण कार्य भइरहेको हो । फिदिम नगरपालिका वडा नम्बर १ को बजार सिरानमा निर्माणधिन भवनको काम युद्धस्तरमा अघि वढेको महासंघका पाँचथर अध्यक्ष लवदेव ढुंगानाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ग्राउण्ड लेभलको पिलर, हात्तिपाईले बेस र ग्राउण्ड लेभलको बिम,कङक्रिट शेयर वाल निर्माण सकिएको छ । अब पहिलो तलाको स्ल्याप गरी ढलानको काम हुने उनले बताए ।

प्रदेश १ सरकारको ८० लाख रुपैयाको लगानीमा शहरी विकाश तथा भवन कार्यालय इलाम मार्फत निर्माण भएको भवन आगामी वैशाख भित्रमा निर्माण कार्य सक्ने भवन निर्माणको जिम्मा लिएको गोदार निर्माण सेवा प्रा.लि.का प्रवन्ध निर्देशक इन्द्र थापाले बताए । एक वर्षको अवधिमा भवन निर्माण कार्य सक्ने सम्झौता भएपनि निर्माण कार्य युद्धस्तरमा भइरहेको हुँदा सम्झौता अवधि वैशाख अगावमै निर्माण कार्य सक्ने उनले बताए ।
यसैवर्ष भवन निर्माण कार्य सकेर कम्पाउण्ड पर्खाल र प्रवेशद्धारको निर्माण कार्य सक्ने महासंघ अध्यक्ष ढुंगानाले बताए । निर्माण हुने भवनमा सूचना केन्द्र, सभाहल र अतिथि आवास कोठा रहनेछन् । भवनको दक्षिणपट्टि सडक र भवनको सुरक्षाको लागि नयाँ शहर इलामले सुरक्षा पर्खाल निर्माण गरेको छ । गत वर्ष गोदावरले २७ प्रतिशत बिलोमा ठेक्का पारेको थियो । भवन निर्माणका लागि रकम अपुग भएमा प्रदेश बाट रकम थपिदिने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । नेपाल पत्रकार महासंघ शाखा पाँचथरको भवन नभएर महासंघ अहिले किराँत याँक्थुङ चुम्लुङको भवनमा भाडामा वस्दै आएको छ ।