धरान: प्रदेश नं १ ले धरानमा तीन दिने अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ ।

प्रदेश सरकार र चलचित्र विकास बोर्डको आयोजनामा धरानमा महोत्सव हुन लागेको हो । महोत्सव कात्तिक २२, २३ र २४ गते हुनेछ । चलचित्र महोत्सवमा देश र विदेशका २५ प्रर्दशन हुनेछ । महोत्सवको सह–आयोजक धरान उपमहानगरपालिका रहने विराटनगरमा पत्रकार सम्मेलन गरेर गरेर जानकारी दिइएको छ । महोत्सवलाई स्विस विकास नियोगको पनि सहयोग हुनेछ ।

चलचित्र महोत्सव मूल आयोजक समितिका अध्यक्ष प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की छन् । महोत्वसका लागि विभिन्न समितिहरु गठन भएको छ । धरान सभागृहमा हुने महोत्सव निःशुल्क हुनेछ । महोत्सवको तयारीको लागि मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा निर्देशक समिति बनेको छ । चलचित्र छनौट उपसमिति, प्रचारप्रसार उपसमिति, महोत्सव स्थलको व्यवस्थापन उपसमिति, सम्मान उपसमिति, निमन्त्रणा तथा स्वागत व्यवस्थापन उपसमितिलगायतको काम भइसकेको छ ।

प्रदेश सरकारले यो आर्थिक बर्षमा धरानलाई चलचित्र नगरी बनाउने भन्दै बजेट विनियोजन गरेको थियो । सोही वमोजिम चलचित्र महोत्सव गरिन लागेको हो । यसले कला संस्कृतिको जगेर्ना गर्ने मन्त्री कार्कीले बताए । 'महोत्सवले प्रदेशको चलचित्र नगरी बनाउन र छायांकन स्थलको निर्माणको ठाउँ झल्काउनेछ, प्रदेशको जातजातिको विविधता झल्काउने काम पनि महोत्सवले गर्नेछ,'मन्त्री कार्कीले भने ।

चत्रचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले महोत्सवले प्रदेश १ को सँस्कार, सँस्कृतिलाई नेपाली चलचित्रमा समेटिएको र आगामी दिनमा समेटिने बिषयबारे छलफल गर्ने बताए । महोत्सवको अवधिभर प्रदेशका कुनै पनि फिल्म हलमा नेपाली चलचित्र मात्र प्रर्दशन गर्नेबारे छलफल भइरहेको पनि उनले बताए ।