धरान: प्रदेश नं १ सरकारको आयोजनामा धरानमा ४ दिने प्रादेशिक चलचित्र महोत्सव आयोजनाको तयारी भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा प्रतिवद्धता जनाए अनुसार यही कार्तिक २१ गतेदेखि २४ गतेसम्म चलचित्र महोत्सव आयोजनाको तयारी गरेको हो । महोत्सवको लागि आइतबार धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको कार्यालयमा चलचित्र महोत्सव सचिवालयको उद्घाटन गरिएको थियो । सचिवालयको उद्घाटन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरे । साथै, महोत्सवबारे पत्रकार सम्मेलनसमेत गरेर सरकारले निःशुल्क हुने जानकारी पनि दिएको छ ।

महोत्सव व्यवस्थापनको लागि सचिवालय सञ्चालनमा ल्याएको आयोजकको भनाई छ । महोत्सवमा सँस्कृतिक पहिचान र विविधता झल्कने गरी २१ वटा चलचित्र प्रर्दशनी गरिने आयोजकको मुल समितिले जनाएको छ । ती मध्ये १८ वटा नेपाली हुनेछ भने ३ वटा स्वीस चलचित्र हुनेछ । महोत्सवको अलावा जातीय, धार्मिक, साँस्कृतिक पहिचान झल्कने झाँकी प्रर्दशनी गरिनेछ भने साँस्कृति विविधताको बिषयमा अन्र्तक्रिया पनि गर्ने मुल आयोजक समितिको भनाई छ ।

महोत्सवको मुल आयोजक प्रदेश सरकार रहने छ भने धरान उपमहानगरपालिका र स्वीस विकास नियोग आयोजक रहेको छ । महोत्सवको लागि मुख्यमन्त्रीको अध्यक्षतामा निर्देशक समिति गठन गरिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीको अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको छ । यस्तै, प्रदेश सरकारका प्रमुख सचिवको संयोजकत्वमा व्यवस्थापन समिति गठन भएको छ ।