धरान: साना केटाकेटीदेखि किसोर किसोरी र युवाहरुमा 'हामी यस्तै त होनी ब्रो' थेगो झै चर्चित छ । यो कुनै थेगो नभएर चर्चित र्यापर भिटेनको गीतको एउटा लाइन हो ।

यो गीत युट्युबमा रिलिज भएपछि चर्चित भयो । र्याप शैलीको गीतले सबैले ध्यान खिच्यो । गीतमा प्रयोग गरिएको केही शब्दहरु अश्लीलता झल्काउने थियो । जसलाई बोलीचालीको भाषामा ‘स्ल्याङ वर्ड’ भन्ने गरिन्छ । पछिल्लो युवा पुस्ताले यस्तो शब्द सहजै पचाइदिन्छन् ।

तिनै चर्चित र्यापर भिटेन आज बिहानदेखि प्रहरी हिरासतमा छन् । दुई दिनअघि मात्र चर्चित तीज गीत हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमाका गायक दुर्गेश थापा पक्राउ परेका थिए । उनको नयाँ तिहार गितले समाजमा असहिष्णुता फैलाएको उजुरीमा समातिएका थिए । उनले युट्युबबाट गीत हटाए, अनि माफी मागेर प्रहरी हिरासतबाट उम्किए ।

दुर्गेश पक्राउ परेदेखि नै भिटेनको बिषयमा पनि सामाजिक सञ्जालहरुमा प्रश्न उठेका थिए । दुर्गेशको गीतले समाजमा असहिष्णुता फैलाएको भन्नेहरुले भिटेनको गीत चै सुनेका छैनन् ? यस्तै प्रश्नहरु पनि उठाइएको थियो । आज भिटेन पक्राउ परे । उनी पक्राउ परेको केही समयपछि हामी यस्तै त हो नि ब्रोको ओरजिनल गीत युट्युबबाट हट्यो । उनी पनि दुर्गेश जस्तै अब माफी मागेर छुट्लान् भन्ने अनुमान विपरीत प्रहरीले मुद्दा चलाउने तयारी गर्यो । दुर्गेशलाई माफी मगाएर छोडेको प्रहरीले भिटेनलाई चै किन छोडेन ?

खासमा प्रहरीले भिटेनलाई नछोड्नुको कारण रहेछ, उनले हामी यस्तै त होनी ब्रो गीतमा प्रहरीप्रति प्रयोग गरिएको शब्द र म्युजिक भिडियोमा दृष्य । उनको यो गीतमा यस्तो छ शब्दहरु:

थरीथरी चुरोट खान्छु, थरीथरी रक्सी
थरीथरी खैरे भेट्छु अन्तर्राष्ट्रिय हब्सी
पुलिस चौकीभित्र गर्छु दारु खाँदै मस्ति
करोडौंको लोन दिएँ शाहरुख खानलाई अस्ति ।

पुलिस चौकीभित्र दारु याने की रक्सी खाएर मस्ति गर्छु भन्ने यो गीतमा पुलिसलाई चिड्याउने अर्काे पनि यस्तो छ शब्द,

जुत्ता लगाउँछु म डोकसाइड
पाइन्ट लगाउँछु म कोटराइज
डन्ठेहरुलाई फक साइन

यो गीत निक्कै अघि रिलिज भएको थियो । तरपनि प्रहरीले नसुनेझै वा थाह नपाए झै गर्यो । तर, दुर्गेश थापा प्रकरणपछि भने प्रहरीको निशानामा भिटेन परे । प्रहरीले भिटेनलाई पक्राउ गर्नु र नछोड्नुको अर्को प्रमुख कारण सामाजिक सञ्जालमा भइरल भएको तस्बिर पनि हो । यो तस्बिरमा भिटेन प्रहरीको असईको वर्दीमा छन् । त्यति मात्र होइन, उनले मुखमा सल्किएको चुरोट लिएका छन्, र हातमा भएको ट्रेमा उनले गाँजा बोकेको भनिएको छ । यो तस्बिरले पनि प्रहरीलाई थप आक्रोश तुल्याएको हो । प्रहरीले उनलाई अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ ।

भिटेनलाई जरुरी पक्राउ पुर्जी

vten2

 

र्यापर भिटेनलाई प्रहरीले पक्राउ गर्दा मुलुकी फौजदारी कार्यविधि संहिताको प्रावधान विपरीत पक्राउ गरेको पाइएको छ । पक्राउ गर्नुअघि अदालतबाट अनुमति लिनुपर्ने व्यवस्थाको उल्लंघन गरेर महानगरीय अपराध महाशाखाले भिटेनलाई पक्राउ गरेको हो ।

प्रहरीले भिटेनलाई अदालतको अनुमतिविना जरूरी पक्राउ पुर्जीको आधारमा बिहिबार बिहान जावलाखेलबाट पक्राउ गरेको थियो । कानुनले जरूरी पक्राउ पुर्जीका आधारमा पक्रन निश्चित अवस्था तोकेको छ । कसुर गर्ने व्यक्ति पक्राउ नपरे भागेर उम्कन सक्ने वा उसले प्रमाण नष्ट गर्न सक्ने चित्तबुझ्दो कारण प्रहरीले देखाउनुपर्ने कानुनमा व्यवस्था छ।

र्यापर भिटेनमाथि कुनै जघन्य अभियोग नभएको र उनी कतै भागेर जाने वा प्रमाण नष्ट गर्ने अवस्था थिएन । त्यसैले उनलाई पक्राउ गर्नुअघि प्रहरीले अदालतबाट अनुमति लिनैपर्ने भएपनि यो प्रावधान विपरीत पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बोलाउन नआएपछि हल्ला भएर भाग्ने सम्भावना भएकोले जरूरी पक्राउ पुर्जीको आधारमा पक्राउ गरेको बताए ।