धरान : मानवीयताको हिसाबले न्युनतम पूर्वाधार भएको कोठामा थुनुवा बस्न पाउन् भन्ने उद्देश्यले धरानको इलाका प्रहरी कार्यालय परिसरमा निर्माण भइरहेको हिरासत भवनलाई बेलायत र हङकङबाट आर्थिक सहयोग भएको छ ।

बेलायतमा बसोबास गरिरहेका धरानेहरुको संस्था धरान समाज युके र हङकङमा भएका धरानेहरुको संस्था धरान हङकङ मञ्चले हिरासत भवन निर्माणको लागि सहयोग गरेको हो । आज शनिबार एक कार्यक्रमबीच ती संस्थानका प्रतिनिधि एवं पदाधिकारीहरुले सहयोग रकम हस्तान्तरण गरेका थिए । युकेबाट नगद १० लाख सहयोग भएको छ भने हङकङबाट एक लाख सहयोग प्राप्त भएको छ । धरान समाज युकेका अध्यक्ष सुर्यमान गुरुङले कार्यक्रममा सहयोग रकम हिरासत भवन निर्माण समितिका अध्यक्ष मिनकुमार सुब्बा, कोषाध्यक्ष सुनिता केसी राईलगायत पदाधिकारीहरुलाई हस्तान्तरण गरेका थिए ।

hirasat

यसैगरि, धरान हङकङ मञ्चका पुर्वअध्यक्ष तथा हिरासत भवन समितिका प्रतिनिधि नानीचन्द्र सिंघक लिम्बूले पनि सोही कार्यक्रममा एक लाख रुपैया प्रदान गरेका थिए । धरान समाज युकेका अध्यक्ष सुर्यमान गुरुङले आफुहरु विदेशमा भएपनि आफ्नो देश र समाजको माया धेरै लाग्ने गरेको मन्तव्यको क्रममा बताए । धरानबाट हिरासत भवन निर्माणको लागि पत्र पाएपछि सामाजिक कार्यको लागि सहयोग गर्ने निर्णय भएवमोजिम १० लाख रुपैया संकलन भएको उनले बताए । ‘धरान र धरान समाज युकेबीच भविष्यमा पनि निरन्तर सम्बन्ध रहीरहोस्,’उनले भने,‘हामी बाहिर भएपनि मन त यतै हुन्छ, आफ्नो देशको माया विदेश गएपछि थाह हुदो रहेछ ।’

हिरासत भवन निर्माण समितिका अध्यक्ष मिनकुमार सुब्बाले भवन निर्माणको क्रममा धेरै चुनौती र अफ्ठ्याराहरु आइपरे पनि निरन्तर लागिपरेको बताए । उनले थुप्रै कठिनाइ झेलेर भए पनि सहयोग गरेको भन्दै बेलायत र हङकङमा रहेका सम्पुर्ण नेपालीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । ‘विदेशमा भएपनि धरानबाट जानुभएकाहरुको भावना हरेक क्षेत्रमा केही न केही गर्नुपर्छ भन्ने छ, धरानलाई बनाउनुपर्छ भन्ने छ, त्यो भावनाको हामी सम्मान गछौं, र गर्व पनि गछौं,’अध्यक्ष सुब्बाले भने,‘कुनै पनि कामलाई शुरुमा राम्रो भन्दा पनि नराम्रो ढंगले कुरा गर्ने हाम्रो बानी छ, तर जस्तै भएपनि भवन निर्माणलाई निरन्तरता दिइरहेका छौं, निर्माण सम्पन्न गरेरै छोड्छौं ।’

hirasat1

निर्माण समितिकी कोषाध्यक्ष सुनिता केसी राईले हालसम्मको आय व्यय विवरण पनि प्रस्तुत गरेकी थिइन् । उनका अनुसार हालसम्म १ करोड ४ लाख ३१ हजार ३ सय ८१ रुपैया नगद सहयोग संकलन भएको छ भने ४ लाख ६० हजार ९ सय ७२ रुपैया बराबरको जिन्सी पनि सहयोग प्राप्त भएको छ । त्यसैगरि, १ करोड ९ लाख ४ सय ७९ रुपैया खर्च भइसकेको उनले जानकारी दिइन् । पसलहरुमा तिर्न बाँकी रहेको हिसाब पनि उनले जानकारी दिएकी थिइन् ।

विभिन्न आरोपमा पक्राउ परेका व्यक्तिहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा राखिने थुनुवा कक्ष अत्यन्तै साँघुरो र अव्यवस्थित हुँदा थुनुवाहरुले कष्टपुर्णरुपमा बस्नुपर्ने बाध्यता छ । धरानको थुनुवा कक्षमा क्षमताभन्दा तेब्बर थुनुवाहरु छन् । सबै थुनुवाहरु एउटै कोठामा कोचिएर बस्नुपर्ने बाध्यता भएकोले रोगी थुनुवाबाट अन्यलाई पनि रोग सर्ने सम्भावना पनि हुन्छ । थुनुवाहरुले कष्ट व्यवहोर्नुपर्ने भएपछि इलाका प्रहरी कार्यालयको अनुरोधमा व्यवस्थित हिरासत भवन निर्माण शुरु गरिएको हो ।

hirasat4