काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’मा आज विभिन्न १५ खेलका भिडन्त हुँदैछन् । आज काठमाडौंमा एथलेटिक्स, पुरुष क्रिकेट, साइक्लिङ, पुरुष फुटबल, गल्फ, कराँते, खो खो, सुटिङ, लन टेनिस, टेबलटेनिस, तेक्वान्दो, भलिबल र उसुका खेलहरु हुनेछन् ।
यसैगरी ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलनका खेलहरु पोखरामा हुनेछ । आज भलिबलतर्फका फाइनल खेलहरु हुँदैछन् । महिलातर्फ उपाधिका लागि नेपाल र भारत भिड्नेछन् । सेमिफाइनलमा श्रीलंकालाई हराउँदै नेपालले भारत विरुद्धको उपाधि भिडन्त तय गरेको हो ।
भारतले भने सेमिफाइनलमा माल्दिभ्सलाई पाखा लगाएको थियो । समूह चरणको खेलमा नेपाल र भारत भिड्दा भारत ३-० को सोझो सेटमा विजयी भएको थियो । आज नेपालललाई उक्त हारको बदला लिने अवसर जुरेको छ । भलिबलकै पुरुषतर्फ आज उपाधिका लागि भारत र पाकिस्तान भिड्दैछन् । यसैबीच फुटबल पुरुषतर्फ आज नेपालले भुटानको सामना गर्नेछ । समूहमा नेपालको यो पहिलो खेल हो भने भुटानको दोस्रो खेल हो । भुटानले हिजो भएको उद्घाटन खेलमा बंगलादेशलाई १-० ले हराएको थियो ।
५ टोली सहभागी पुरुष फुटबलका खेलका राउण्ड रोबिन ढाँचामा काठमाडौंको दशरथ रंगशालामा भइरहेको छ । लिग चरणको शीर्ष दुई टोली स्वर्ण पदकको लागि भिड्नेछन् ।