धरान: मंगलबार राती अबेरसम्म धरानको भानुचोक गीत, संगीतमा रम्यो । धरानेहरुले चिसो मौषममा पनि वास्ता नगरी संगीतको नशामा झुमे ।

किरात राई यायोक्खा सुनसरीले यले सम्बत ५०८० को अवसरमा यलम्बर साँझ कार्यक्रम आयोजना गरेको थियो । दिउँसो औपचारिक कार्यक्रम हुँदादेखि नै संगीतमय भइरहेको भानुचोक रात छिप्पिदै गएपछि त झन् तातियो । चिसोमा पनि राती अबेरसम्म मानिसहरु थामिनुमा चर्चित गायक राजेश पायल राईको प्रस्तुती थियो । राती करिब ९ बजेतिर गायक राई स्टेजमा आए । स्टेजमा आएपछि लगातार आफ्नो चर्चित गीतहरु गाउन थालेका उनले एक घण्टा बढी समयसम्म धरानेहरुलाई मनोरञ्जन दिलाए ।

IMG_20200114_211022

मैले मायाले दिएको चिनो..बोलको गीतबाट उनले आफ्नो प्रस्तुती शुरु गरेका थिए । त्यसपछि क्रमशः उनले हुरुक्कै भए म..,सोइ सोइला..,फेरि फेरि नाइ नभन्नु ल..,म त मर्छु कि क्या हो ठुली.., हाट भर्न दिक्तेल गाको..,दर्शन नमस्ते..,किन यति धेरै माया..,ढल ढल ढल्किने..लगायत चर्चित दर्जनको हाराहारीमा गीत गाएका थिए ।

उनले सोही क्रममा आयोजक संस्थालाई एक लाख रुपैया आफ्नो तर्फबाट सहयोग गर्ने घोषणा पनि गरेका थिए । साथै, आफु अबको केही दिनमा जर्मन जाने जानकारी दिदै उनले आफुसँगै नेपाली गीत,संगीत र नेपालीहरुको माया पनि विदेशमा पुगिरहेको धारणा राखे । उनी अघि अर्का चर्चित पुर्वेली लोकभाका गायक जितेन राईले पनि गीत गाएका थिए ।

IMG_20200114_170440 jiten-rai