काठमाडौँ: विमानस्थलमा महिला प्रहरीसँगको सामान्य झगडापछि फेसबुक लाइभबाट असन्तुष्टी पोखेर विवादमा आएकी चर्चित गायिक आस्था राउत प्रहरीको सम्पर्कमा पुगेकी छिन् ।

सिक्किममा सांगीतिक कार्यक्रम सकेर नेपाल फर्किएकी उनी आज बिहान आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएकी हुन् । सम्पर्कमा आएपछि प्रहरीले उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको थियो ।