इटहरी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरीको पार्टी कार्यालयदेखि निजी स्कुल र सहकारी भवन खोला र पैनी मिचेर बनेको पाइएको छ ।

इटहरी ६ मा रहेको नेकपा इटहरीको नगर कमिटीको कार्यालय पैनीमाथी निर्माण भएको छ । सार्वजनिक जग्गा खोजबिनमा अभियानको अभियन्ताको छवी बनाएका मेयर द्वारीकलाल चौधरी पैनी माथी बनेको नेकपा पार्टी कार्यालयको बारेमा जानकार छन् ।

इटहरी ५ स्थीत सिमरबना सहकारी संस्थाको भवन पनि पैनीमाथी नै निर्माण भएको छ । पैनीमाथी निर्माण भएको भवनमा सहकारीले कार्यालय चलाउँदै सटर भाडामा समेत लगाइ रहेको छ । मासिक ६ हजारका दरले ६ वटा सटर बापत पैसा लिनेगरी कोटेशन आह्वान गरी व्यापारीक भवन निर्माण गरेको हो । पैनी मिचेर बनाइएको उक्त भवनको नक्सा पास समेत हुन सकेको छैन ।

इटहरी ४ मा अवस्थित हाम्रो इङ्लीस बोर्डीङ स्कुल खेती खोला मिचेर बनेको छ । ५५ देखी ७६ फिट सम्म लामो खोलाको भाग हाल खुम्चीएर २५ फिट भन्दा सानो भएको छ । खोलाको भागमा बोर्डीङको प्रशासनीक भवन अवस्थित छ ।
जसले गर्दा खोलाको आकारनै खुम्चीएर गएको छ । एक स्थानीयले नाम नबताउने सर्तमा आफुहरुले बारम्बार बोर्डीङमै गएर र नगरपालिकामा पनि यस बिषयमा जानकारी गराएको तर केही सुनुवाई नभएपछि बोल्नै छाडेको बताए ।
१ बर्ष अगाडी मेयर द्वारीकलाल चौधरीले खेतीखोला सरसफाई अभीयान चलाए । सो अभियान हाम्रो बोर्डीङ स्कुलको सिमानामा रहेको राजकुमार खड्काले बाधेको बाँध भत्काएर रोकीयो । तिनै खड्काका अनुसार आफुले जग्गा संरक्षणमा लगाएको बाँध बाहेक छेउछाउमा बनेका घर तथा टोलबिकासका भवन जस्ताको तस्तै छन् ।

त्यस्तै इटहरी ८ को नमुना कलेजको अवस्था पनि त्यस्तै छ । टेङ्ग्रा खोला मिचेर कलेजले चमेना गृह निर्माण गरेकोछ । कलेज अगाडीको घर समेत खोलाकै जग्गामा निर्माण भएकोछ । खोलाको किनारामा पर्ने बाटो समेत खिइदै गएकोछ ।
जुन बिषयमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले पत्र समेत पठाएको थियो । ०७५ फाल्गुन ६ गते काटीएको पत्रमा आवश्यक विवरण सहित राय प्रतिकृया माग गरीएकोछ । अख्तियारले उपमहानगरलाई सार्वजनिक जग्गा मिच्ने बोर्डीङ स्कुलको स्केच सहित पत्र पठाउन भनेको थियो । ०७५÷१०÷१५ मा ७०१ दर्ता नम्बरमा दर्ता भएको उजुरीको आधारमा पत्र काटेको उल्लेख गरेको थियो । जसमा इटहरी ४ मा पर्ने खेती खोला अतिक्रमण गरेर बनाइएको हाम्रो बोर्डीङ स्कुल र इटहरी ८ मा टेङ्ग्रा खोला मिचेर बनेको नमुना कलेजको जग्गाको बिषयमा स्पष्ट प्रमाण माग गरीएको थियो । तर अहिलेसम्म कुनैपनि कारबाही प्रकृया अगाडी बढ्न सकेको छैन ।

संघिय सरकारले स्थानीय सरकारलाई पठाएको पत्रानुसार खोला देखि ३० मिटर असापासको क्षेत्रमा कुनैपनि संरचना बनाउन नपाइने व्यवस्था उल्लेख गरीएकोछ । तर स्थानीय सरकारमा कती मिटरमा उपयुक्त हुन्छ भन्ने बारे एक समितीले अध्ययन गरेको छ । जसले टेङ्ग्रा र खेती खोलाको किनारमा संरचना निर्माण गर्दा ६ मिटर छाड्नुपर्ने प्रतिवेदन तयार पारेको छ ।
खोला र पैनीमा घर तथा भवन निमार्ण भएपछी खोला बजारमा पस्नेक्रम बढीरहेकोछ । जसको कारण हरेक बर्ष इटहरीबासीको टाउको दुखाईको बिषय बन्दै गएकोछ ।

उता इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले सार्वजनीक जग्गा खोज्ने जो कसैलाई पनि नछाड्ने भन्दै घर खालीगर्ने पत्र काटीरहेका छन् । पहिला धेरैलाई घर वा संरचना खाली गर्ने समय दिइएको र अब कुनैपनि हालतमा नछाड्ने उनले उदघोष गरेका छन् । इटहरी बिच बजार भएर बग्ने खेती र टेङ्ग्रा खोला क्लियर गरी नेकपा पार्टी कार्यालयले मिचेको पैनी सफा गर्न सके उनको बोलीमा दम देखीनेछ ।