पथरी :  चिनी तस्करीमा संलग्न रहेका रतुवामाइ वडा नं. १ का वडा सदस्य मोहम्मद सदिर मियालाई तस्करीको आरोप प्रमाणित भए कडा कानुनी कारबाही गरिनु पर्ने रतुवामाइ नगरपालिकाका मेयर रविन राईले बताएका छन् ।

राईले टेलिफोन कुराकानीमा जनप्रतिनिधिले यस्ता कार्य गर्न नहुने भन्दै कानुन माथि कोही नरहेको बताएका हुन् । राईले भने 'मियाको ट्रयाक्टर दुर्घटना भएको र प्रहरीले सो ट्रयाक्टर बाट धानका वोरा र चिनी बरामद गरेको आफूलाई जानकारी आएको छ ' । ट्रयाक्टरबाट अवैध चिनी बरामद भएको भए पनि वडा सदस्यसँग आफूले सो बारे जानकारी लिन खोजे पनि उनी सँग सम्पर्क हुन नसकेको राईले बताए ।

'यस्ता काममा जनप्रतिनिधि संलग्न रहे नैतिकताका आधारमा पनि सो कार्य गर्न छुट छैन' राईले भने ‘उनी सँग थप बुझ्ने प्रयासमा छु’। राईले सो पछि १ नम्बर वडाका अध्यक्ष हरि प्रसाद गिरी सँग छलफल गरेको जानकारी दिए । राईका अनुसार मिया मकै तथा धानको कारोबार गर्दै आएका व्यापारी हुन् । मियाको स्वामित्वमा रहेको मे १ त ८७ १६ नम्बरको ट्रयाक्टरले रतुवामाई ९, टालिभट्टामा बा २९ प ६८४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटना स्थल पुगेको प्रहरीले चेक जाँच गर्दा जुटको बोराभित्र हालेर धानको बोराले माथिबाट छोपेर भारतबाट अवैध रूपमा ल्याउँदै गरेको २५ क्विन्टल चिनी बरामद गरी नियन्त्रणमा लिएको थियो ।