झापा : गत असोज १४ गते सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बस्यो। बैठकमा समिति सभापति शशि श्रेष्ठले बलात्कारका घटनालाई मिलापत्र गराउने व्यक्ति तथा निकायहरूलाई बलात्कारको मतियारको रूपमा कारबाही गर्न एवं त्यसरी कारबाही गर्ने कानुनी व्यवस्था गर्नका लागि निर्देशन समेत दिएकी थिइन ।
बलात्कारीलाई निर्ममतापूर्वक सजाय नदिने हो भने घटनामा कमी नआउने भन्दै समितिले विद्यमान कानुनहरूको कुनै पनि दबाब, बहाना बाजी वा मनपरी नगरी दृढतापूर्वक कार्यान्वयन गर्न निर्देशन दिइएको समिति सभापति श्रेष्ठले बताएकी थिइन। त्यस्तै आवश्यकता अनुसार कानुनहरूको पुनरावलोकन पनि गर्न सरकारलाई निर्देशन दिइएको उनले बताएकी थिइन ।
सोही बैठकमा गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको दाबी गरेका थिए । तर पछिल्लो समय औसतमा प्रत्येक दिन ६-७ जना बलात्कृत हुने गरेको देखिएको भने उनले स्विकारेका थिए । तर उनले नेपालमा बलात्कारका घटना बढिरहेमनि विश्वका अरू देशको तुलनामा अवस्था चिन्ताजनक नभएको बताएका थिए । विश्वका २०० भन्दा बढी देशको तथ्याङ्क विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनको दाबी थियो । गृहमन्त्री थापाले त्यस बेला भनेका थिए कि 'नेपालको स्थान पछाडिबाट हेर्दा सवा २०० मुलुकमध्ये टप १५ मा छौँ' ।
तर गृहमन्त्रीकै शब्दलाई सापटी लिएर भन्ने हो भने नेपालमा बलात्कारका घटना बढिरहे पनि विश्वका अरू देशको तुलनामा अवस्था चिन्ताजनक छैन रे । गृहमन्त्रीज्यू त्यसो भए तल उल्लेखित घटनाहरू चाहिँ के सन्तोषजनक छन् त रु नागरिकको प्रश्न छ तपाईँलाई ।
केही प्रतिनिधिमूलक घटनाहरू हेरौँ :
१. बझाङमा आफन्तबाटै यौन हिंसा र अमानवीय यातना, ‘ससुराले बलात्कार गर्थे, पानी माग्दा मुखमा पिसाब फेरिदिए’ ।
२. सिराहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ ।
३. साथीसँग खेलिरहेकी पाँच वर्षीय बालिकालाई छिमेकी एक किशोरले बोलाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन । तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले आफूलाई बलात्कार गर्लान् भन्ने । तिनै छिमेकी दाइ उनका लागि राक्षस बने । आमा खेतमा गएका बेला अबोध बालिका आफ्नै घरमा बलात्कृत भइन । यो घटना साउन ४ गते दिउँसो सिराहा नगरपालिका–१९ सन्हैठाको सोहर्वा टोलमा भएको हो ।
४. असोज २ गते सिराहाको कर्जन्हा नगरपालिका-३ मा १९ वर्षीय युवती चिनजानकै पुरुषबाट बलात्कृत भइन् ।
५. भदौ १ गते धनुषा धाम-९ सय बिघास्थित दिदीको घरमा बिहे भोज खाएर सबैला नगरपालिका-१२ रघुनाथपुर स्थित घर फर्किरहेकी किशोरी सामूहिक बलात्कारको सिकार भइन । आठ जना युवकले आफूलाई बन्धक बनाएको र त्यसमध्ये चार जनाले बलात्कार गरेको बयान किशोरीले प्रहरीमा दिएकी छन् ।
६. यस्तै असोज १३ गते राति करिब ८ बजे महोत्तरीको भंगहा नगरपालिका-९ बस्ने ३५ वर्षीय महिला वडा सचिवबाटै बलात्कृत भइन । हटियाबाट घर फर्किरहेकी ती महिला मुसहरी टोलकै सडकमा बलात्कृत भएकी थिइन ।
७. धादिङमा गत असोज १२ गते आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । १४ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।
८. बझाङकी सम्झना विकको असोज ७ गते बलात्कारपछि हत्या ।
यी त केही प्रतिनिधिमूलक घटना मात्रै यहाँ उल्लेख गरेको छु । माननीय गृह मन्त्रीज्यू, कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन नसके पनि बझाङकी सम्झनालाई चाहिँ सम्झनुहोला है । अनि अर्को कुरा नेपालले मान्छेको जस्तो सुकै अवस्थामा पनि बाँच्न पाउने अधिकारका विषयमा विभिन्न सम्धीहरूमा हस्ताक्षर गरेको छ । बरु ती सम्धीहरू खारेज गरी बलात्कारीलाई फाँसीको सजाय हुने गरिएको कानुन निर्माण गरौँ ।
नेपालले विभिन्न मानवअधिकार सम्बन्धी २४ वटा भन्दा बढी सन्धि र महासन्धिहरूमा हस्ताक्षर गरी अनुमोदन गरेको छ । ती सन्धि सम्झौताहरूले मृत्युदण्डलाई अस्वीकार गर्ने प्रस्टै उल्लेख गरिएको छ । त्यसैले त्यसलाई पनि खारेज गर्न ल्याकत राख्नुपर्छ ।
नेपालमा बि. स. २०२० सालमा जारी भएको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै नयाँ ऐन जारी भयो । जहाँ फौजदारी संहिता अन्तर्गत बलात्कारपछिको हत्याका अपराधीलाई आजीवन कारबासको व्यवस्था गरिएको उल्लेख छ । तर यो मात्र पर्याप्त नहुने प्रस्टै देखिन्छ ।