पत्रपत्रिकाका पानामा आफ्नो नाम छाप्न पाए कस्तो हुन्थ्यो होला ! रेडियोमा आफ्नो नाम गुञ्जाउन पाए, झन् कस्तो हुन्थ्यो होला ! मेरो मनमा उर्लिरहेको थियो, यस्तो असामान्य तिर्खा ।

कसरी मेट्ने होला यो तिर्खा ? छटपटी लाग्थ्यो । तिर्खा मेट्न खोलासम्म धाउनका लागि बाटो देखाउने पनि कोही छैनन् । पत्रपत्रिकामा छापिएका अक्षरहरूमध्ये आफ्नो नामसँग मिल्ने ब्यञ्जनवर्ण र स्वर वर्णका अक्षरहरू ब्लेडले काट्थेँ र एउटा कागजमा टाँस्थेँ ।  त्यसलाई हेरेरै घण्टौँ सोच्थेँ, आहा, यसरी नै मेरो नाम कुनै पत्रपत्रिकाको पानामा छापिएको दिन कस्तो हुन्छ होला !

पत्रपत्रिकाको पानामा नाम छाप्न त, खल्तीमा दाम पनि हुनुपर्छ । त्यो बेला पत्रपत्रिकासम्म पुग्ने सहज माध्यम हुलाक सेवा विभाग थियो । कागज, कलम र त्यसमा शब्दहरू भर्ने सीप आफूसँग भएर मात्र भएन, आफ्नो  भावहरू कोरिएका कागजलाई सुरक्षित गर्न खाम किन्न पर्‍यो, र त्यसलाई सम्बन्धित ठाउँसम्म पुर्याउन हुलाक टिकट पनि किन्न पर्यो । त्यसैले नामको लागि दाम पनि चाहिने भयो । त्यसो त पत्रपत्रिका पनि आफ्नो हातमा निःशुल्क आउने कहाँ हो र?

म त्यो बेला चलचित्र प्रधान “कामना” मासिकको नियमित पाठक थिएँ । 
बजारमा “कामना” को नयाँ अङ्क आयो । त्यो किन्ने ८ रुपैयाँ दाम आफूसँग छैन । पर्यो फसाद !
ठुलो छटपटीमा परेँ म । के गर्ने, कसो गर्ने ? एसएलसी दिएर बसेको समय थियो त्यो । 
म कक्षा १ देखि ३ सम्म पढेको विद्यालय भवन २०४५ सालको भूकम्पका कारण भत्किएको थियो । त्यसको पुनर्निर्माण हुँदै थियो । कुनै समय त्यहीँ विद्यालय भवनमा पढेर कक्षाको उत्कृष्ट विद्यार्थी दरिएको म त्यहीँ गएर काम मागेँ । दुई साता मजदुरी गरेँ । पैसा बुझेँ, सरासर गएर “कामना” मासिक किनेँ । अब मसँग पत्रिका खरिदपछि बचेको प्रशस्त रकम थियो, खाम र हुलाक टिकट किन्नलाई ।

यसरी पसिना चुहाएर कमाएको दामबाट मैले एउटा नाम पनि पाएँ । विजयकुमार पाण्डेको फोटो कभरमा छापिएको त्यो “कामना”को (सायद २०४६ भदौ)मा मेरो पाठक प्रतिक्रिया छापियो । खुसीले धेरै रातको मेरो निद्रा विथोलियो ।

एकलब्य अभ्यास

कलमले केही लेख्नु परे, सकेसम्म धर्साहरु नभएको कागजमा लेख्न मन लाग्छ, मलाई । सजिलोको लागि सम्झनुहोस, फोटोकपि पेपर । मलाई लाग्छ, म धर्साहरु अर्थात्, कसैको बन्धनमा रहन मन पराउदिनँ । धर्साहरु नभएको कागज भए पनि मेरा अक्षरका हरफहरु बक्र हुँदैनन् । सायद म एउटा सिधासोझा मानिस हुँ । लेख्नु पर्दा म सेतो कागजमा कालो मसीले लेख्न मन पराउँछु । सायद सप्तरङ्गी इन्द्रधनुषी स्वभाव छैन, मसँग । अर्थात् म,“ब्ल्याक एण्ड ह्वाइट” खालको मान्छे हुँ । सकेसम्म कम ढाँट्छु ।

त्यसैले त, मैले मजदुरी गरेको प्रसङ्ग माथि उल्लेख गरेँ, नढाँटिकनै । कम ढाँट्दा मैले ब्यक्तिगत रुपमा केही घाटाहरु ब्यहोरेको पनि छु । यसमा मलाई कुनै पछुतो छैन, न छ मसँग कुनै हीनतावोध ।

कुनै पनि बन्धन मेरा लागि सुपाच्य नभए पनि, जिविका चलाउन कसैको स्वामित्व वा नेतृत्वमा रहेको संस्थामा आत्मअनुशासित भएर पसिना बेच्न जानु त छँदै थियो । लाग्यो, जिविकाका लागि पत्रकार वा प्राध्यापक भइयो भने स्वतन्त्र रुपमा जीवन बिताउन सकिन्छ । मैले दुवै अभ्यास गरेँ, २२ वर्ष पत्रकारिता गरेँ, अनि ८ वर्ष कलेज पढाएँ । (यी दुवै पेशामा लाग्दा कति स्वतन्त्र भइने रहेछ भन्ने अनुभूति कुनै समय लेखौँला ।) 
अन्ततः मैले लिएको पेशागत लक्ष्य पुरा गरेरै छोडेँ ।

धनकुटा, मेरो जन्मभूमी । त्यहीँ ठाउँको समाचार सम्प्रेषण गर्दै म पत्रकारितामा होमिएँ । तर यो अभ्यासमा मैले कसैलाई गुरु थापिनँ । त्यसमा गुरु थाप्न योग्य मानिस नपाएर पनि हुनसक्छ वा मेरो आफ्नै स्वभाव पनि यसमा जिम्मेवार हुनसक्छ ।

केही साप्ताहिक अखबारहरुमा सानोतिनो समाचार छापिन थाले मेरो बाइलाइन सहित । तर मलाई अलि ठुलो स्पेश चाहिएको थियो । सायद ममा पत्रकारिताको रहर मात्र होइन, पेशागत इच्छाशक्तिको ऊर्जा पनि बढिरहेको थियो ।

त्यो बेला मैले जिल्ला विकास समिति, धनकुटामा करार सेवामा जागिर पाएको थिएँ, मुखिया पदमा । प्रजातन्त्र पुनस्थापना पछि निर्वाचित तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको “कृपा”बाट धनकुटा सदरमुकाममा रहेका क्षेत्रीय कार्यालयहरु धमाधम उनकै गृहनगर विराटनगर सार्न थालियो । अनि भयो, धनकुटा बेहुली अन्माएर पठाएको आगन जस्तै ।

पछि सञ्चयकोषको एउटा सामान्य शाखा धनकुटामा दिइयो, गिरिजाबाबुको अर्काे “कृपा”बाट । त्यो कार्यालय पनि बडो तामझामका साथ धनकुटालाई “उपहार” प्रदत्त गरियो । उपहार बोकेर आइपुगे, तत्कालिन अर्थ राज्यमन्त्री महेश आचार्य ।

सञ्चयकोष कार्यालयको उद्घाटन र धनकुटा सदरमुकामको तत्कालिन अवस्थाबारे केही लेखेर “कान्तिपुर” दैनिकमा पठाएँ, हुलाकबाट । छापिए छापियोस, नछापिए नछापियोस । त्यो अखबारले मलाई भब्य स्थान दिइहाल्यो । तेस्रो पृष्ठको मुख्य समाचार भएर त्यो छापिए पछि गम्भीर बनेँ म । लाग्यो, मेरो पत्रकारिताको पेशागत सुरुआत भयो अब । दुई महिना जति भएको थियो,  जिल्ला विकास समिति, धनकुटामा जागिर सुरु गरेको । त्यसपछि त त्यो जागि छाडि पनि हालेँ ।

मलाई पत्रकारिताका लागि उत्प्रेरित गर्ने चाहिँ अग्रज नेता तत्कालिन जिविस सभापति धर्मराज पौड्याल हुनुहुन्छ । अर्का उत्प्रेरक चाहिँ, लक्ष्मी निरौला (हालः नेपाल सरकारका सहसचिव)। तर सिकाउने कोही थिएनन् । यद्यपी म अखबारको प्रत्येक अक्षर र शब्दहरुलाई चामल केलाएझैँ केलाउथेँ । सम्पादित भएर आएका समाचारहरुको गम्भीरतापूर्वक अध्ययन गर्थेँ । त्यहीँ अध्ययनको सिकाइलाई प्रयोगमा ढाल्थेँ । अनि समाचार सङ्कलन र लेखनमा जुट्थेँ । “कान्तिपुर”मा ती समाचार छापिएर आउँथे ।

२०५०को असारमा “कान्तिपुर”ले काठमाडौंमा  जिल्ला समाचारदाताहरुको भेला बोलायो । त्यहाँ अग्रजहरुले भने, “तिमी फिचर राम्रो लेख्छौ ।” मैले जवाफमा यति मात्र भनेँ,“हजुर, हजुर !”

पहिलोपटक “फिचर” शब्द सुनेको थिएँ । फिचर भनेको चाहिँ के हो, थाहापत्तो छैन । फिचर शब्द सुनेको डेढ वर्षपछि धरानमा मैले आधारभूत पत्रकारिता तालिम लिएँ । त्यतिखेर पो प्रशिक्षक गोकुल पोखरेलहरुले बताएपछि“फिचर”बारे बुझेँ । नबुझिकनै लेखिएछ, हार्ड न्यूज, सफ्ट न्यूज अनि फिचर । 

मेरो पेशागत इच्छाशक्ति र त्यसले ममा भरेको ऊर्जाका कारण अक्षरहरुमा दौडने मेरा आँखा र आँखा हुँदै मष्तिष्कमा पुगेका भावहरू मेरा गुरु रहेछन् ।

एकलब्य अभ्यासबाट सुरु भएको मेरो संस्थागत पत्रकारिता जीवनले २२ वर्षपछि विश्राम लिएको छ । अहिले म स्वतन्त्र लेखनमा छु ।

आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेको मान्छेको गुरु नै छैनन् र ? मैले स्नातकोत्तर गर्दा मलाई रामकृष्ण रेग्मी, श्रीरामसिंह बस्नेत, डा. कुन्दन अर्याल र डा. सुरेश आचार्यहरुले पढाउनुभयो । पत्रकारिता शिक्षाको उहाँहरु गुरु हुनुहुन्छ, तर पत्रकारिता अभ्यासमा चाहिँ म “एकलब्य” नै हुँ । 
सुरुआती पत्रकारितामा यात्रामा म एक्लो थिएँ । पछि सहयात्रीहरू बटुलेँ ।

बसको छतमा जो भेटिए

२०५१ सालको मध्यावधि चुनावको समय थियो । त्यो बेला म धरानमा थिएँ । उम्मेदवारहरुको उम्मेदवारी दर्ता सम्बन्धी रिपोर्टिङ गर्न जानुपर्ने भयो, इनरुवा । एमाले उम्मेदवार लिला श्रेष्ठ सुब्बा (दिवंगत)लाई साथ दिने कार्यकर्ता चढेको बसको छतमा चढेँ, मित्र जीवन भट्टराईका साथ । बसको छतमा जीवनजीले एक जना युवकलाई कोट्याएर भन्नुभयो,“ल, तिमीलाई काम लाग्ने मान्छे हुनुहुन्छ । उहाँको नाम हो राजकुमार दिक्पाल ।”
ती नवयुवकले मलाई एकछिन छक्क परेर हेरे । अनि जम्ला हात गरे,“नमस्कार दाई ।” पछि ती भाई मकहाँ धाउन थाले । सोचेँ, यी भाईलाई म आफूजस्तै बनाउँछु । तर बीचमा आउन छाडे । अहिले जस्तो सहज सञ्चार साधन थिएन । कुनै बेला आउँथे, तर अलि निराश थिए देखिन्थे । पछि बुझियो, उनी त्यसबेला असफल प्रेमका कारण तनावमा रहेछन् ।

विस्तारै सामान्य अवस्थामा फर्कदै गए ती भाई । उनलाई मैले काठमाडौंबाट निस्कने एउटा साप्ताहिक अखबारका लागि सिफारिस गरिदिएँ । उनको बाइलाइनमा धमाधम समाचार छापिन थाल्यो । उज्यालै अनुहारका ती भाईको अनुहारमा त्यो अखबार आउने दिन थप उज्यालो भरिन्थ्यो । उनको अनुहारको उज्यालो मेरो अनुहारमा पनि ठोकिन्थ्यो । आहा, कस्तो मज्जा !

छापा पत्रकारिताबाट करिअर सुरु गरेका ती भाई पछि रेडियोतिर अग्रसर भए । उनैको अग्रसरतामा धरानमा एक एफएम स्थापना भयो । अहिले पनि त्यो एफएम बजिरहेकै छ । म आफू श्रमजिवीका श्रमजिवी, उनी त मालिक पत्रकार पो भए । उनी अर्थात्  जसकुमार राई ।

मेरा अक्षर चिहाउने आँखा

एउटा ठाउँमा बसेर लेखिरहेको थिएँ, फुल्स्केप कागजमा । मेरो बानी छ, सबैभन्दा पहिले विषयवस्तु लेखिसक्ने, अनि विषयवस्तुको शीर्षक लेख्ने, त्यसपछि लेखक अर्थात् आफ्नो  नाम । मैले आफ्नो  बानी अनुसार त्यसै गरेँ, अर्थात् अन्तिममा आफ्नो नाम लेखेँ ।

“तपाईं यो नामको मान्छे हो ?” अघि देखि मैले लेखेको चिहाइरहेका एक किशोरले बडो आश्चार्यमा परेर मलाई सोधे । “हो, मै हुँ त यो मान्छे ।”

उनले धेरैपटक यो नाम पढेको बताए । फेरि अर्को समय त्यो किशोर त्यहीँ ठाउँमा भेटिए । उनको साथमा थियो, केही पत्रपत्रिका । उनको नाममा केही पाठक प्रतिक्रिया र रोचक जानकारी छापिएका रहेछन् । देखाएर भने,“यहाँनेर मेरो नाम छापिएको छ नि ।”

त्यो किशोरले मेरो पिछा गर्न थाल्यो, अब । मकहाँ आउने, र अनेक जिज्ञासा राख्ने । घरिघरि त दिक्क पनि लाग्थ्यो, मलाई ।

म त्यो बेला चतरा लाइनमा महेश श्रेष्ठको छिमेकी भएर बसेको थिएँ । महेश श्रीमति सहित  बार्दलीमा थिए, त्यो साँझको । “ऊ फेरि आयो”, महेशजीको श्रीमतीको आवाज आयो । उही थोत्रो साइकल खिरिङ् खिर्ङि पार्दै त्यो किशोर मकहाँ आउँदै गरेको सूचना महेश दम्पतिबाट प्राप्त हुनासाथ “म यहाँ आज छैन भनिदिनु है” भनेर म लुकेँ । त्यो रात मलाई धेरै लेख्नु थियो । मलाई नभेट्ने सूचना पाएपछि उनी फनक्क फर्केको सूचना पाएपछि म दुलोबाट निस्केँ ।

उनको पत्रकारिताको तिब्र तिर्खा बुझेपछि पहिलोपटक म आफैले सङ्कलन गरेको दुई वटा समाचार उनको नाममा लेखेर भनेँ,“लु यो तिम्रो अक्षरले सार त भाई ।” उनले त्यसै गरे ।
पछि ती किशोर आफ्नो  नातेदारको घर छाडेर मेरै डेरामा बस्न थाले । एउटै भाँडामा पकाएको खाएर एउटै कोठामा हामीले दुई वर्षजति बितायौँ ।

हामीले एउटा साप्ताहिक अखबार चलाएका थियौँ, धरानबाट । एकदिन समाचार लेखिसकेपछि समाचार कक्षबाट ती किशोर ओझेलिए । कता गएछ भनी खोज्दै गएको त, फिर्ता आएर स्टोरमा थन्किएका अखबारको थाकमाथि ढलिरहेका उनी त । उनको निधारमा भिजेको रुमालको पट्टि थियो । हनहनी ज्वरो आएको रहेछ । तर हामीसँग सिटामोल किन्ने पैसा समेत थिएन, कठै ! 
असाध्यै मेहनती ती किशोर अहिले त परिपक्व युवा पत्रकार बनिसकेका छन् । उनी हुन्, डम्बरकृष्ण श्रेष्ठ ।

मेरो छेउमा एउटा साइकल

भानुचोकमा एउटा कार्यक्रम भइरहेको थियो, म रिपोर्टिङको क्रममा थिएँ । अर्काेतिर पुलुक्क आँखा पुग्यो मेरो । एउटा साइकल म भएतिर आएर मेरै छेउमा रोकियो । साइकलबाट उत्रेर ती किशोरले जम्ला हात गरेर भने,“नमस्कार दाई ।”

नचिनेको र यसअघि नभेटेको व्यक्तिबाट आज अचानक नमस्कार पाएँ मैले । आश्चार्यमा परेँ । आफूलाई त्यत्रो आदरभावले नमस्कार गर्नेलाई नचिनेजस्तो पनि किन गर्नु ? मैले पूर्वपरिचित जस्तै भाव प्रकट गरेँ । ती किशोर धेरै नबोली बाटो लागे । जाने बेलामा फेरि जम्ला हात गरेर भने,“दाई भेट्दै गरौंला है ।”
को होलान्, ती किशोर ? केही दिन मनमा कुरा खेलिरह्यो । अनि आँखाभरि नाचिरह्यो, बुट्टे सर्ट लगाएका ती किशोरको अनुहार ।

पछि ती किशोर मेरो सम्पर्कमा आए । मैले काठमाडौंबाट निस्कने एउटा अखबारमा उनलाई सिफारिस गरिदिएँ । त्यो बेलासम्म उनमा पत्रकारिताको साह्रै ठुलो भोक पो जगाइसकेको रहेछु मैले । 
एकदिन मैले उनलाई भनेँ,“तिमी रेडियोतिर जाऊ हौ भाई ।” पूर्वी नेपालमा एफएम विस्तारको सुरुआत भइरहेको बेला ती भाईले ठाउँ ओगटिहालेछन् । मैले काठमाडौंमा रहेर ती भाईको प्रगतिका सन्देशहरु सुन्न पाइरहेँ ।

पत्रकारिता र त्यसमा पनि श्रब्यदृश्य पत्रकारितालाई सफलतापूर्वक आफ्नो साधनाको माध्यम बनाइरहेका ती भाई हुन्, देवराज राई । 

Rajkumar-dikpal-3

भेट गर्ने आतुरता
दिवंगत कवि विमल गुरुङको घरमा बास थियो मेरो । विमलका माता सरस्वति र पिता पूर्णबहादुर गुरुङले मेरो गाँस र बासको ब्यवस्था गर्नुभएको थियो । त्यो बेला विमलको नाममा स्थापित पुस्तकालयलाई तन र मनले सघाइरहेको थिएँ ।

“स्थानीयस्तरले मात्रै हुँदैन, राष्ट्रिय स्तरकै कविता महोत्सव गरौँ” भन्ने मेरो प्रस्ताव गुरुङ दम्पतिबाट सहर्ष स्वीकृत भयो । २०५२ सालदेखि राष्ट्रियस्तरको कविता महोत्सव सुरु भयो ।

“दाई उसले पनि कविता बुझाएको छ”, डम्बरकृष्ण र देवराजले एक जना युवालाई मेरो अगाडी उभ्याए । कविता छनौटका क्रममा निर्णायकहरुले उनको कवितालाई उत्कृष्ट कवितामा राखेका थिए । त्यो साल गोरखाका भीम राना “जिज्ञासु”प्रथम, कास्कीका रमेश श्रेष्ठ द्वित्तीय र सुनसरीका पेशल आचार्य तृतीय भएका थिए ।

पछि ती कवि भाई आएर भने,“दाई मलाई पनि पत्रकारिता गर्ने मन छ, कसो गर्ने होला ?”
मैले उनलाई राजधानीबाट निस्कने एउटा साप्ताहिकका लागि सिफारिस गरेँ । बाइलाइनका समाचार बोकेर ती भाई आउँथे र बडो गौरवका साथ भन्थे,“दाई, आज पनि छापियो नि !”
उनको गौरवानुभूतिले मलाई पनि स्पर्श गथ्र्यो ।

पछि मैले उनलाई एउटा राष्ट्रिय दैनिकका लागि पनि सिफारिस गरिदिएँ । लामो समय त्यो दैनिक (हालःबन्द) मा काम गरे उनले । अहिले पनि उनी एउटा राष्ट्रिय दैनिकमा सशक्त श्रमजिवी सञ्चारकर्मीको रुपमा सक्रिय छन् । उनी हुन्, प्रदीप मेयाङ्वो ।

“दायाँबायाँ नगर्नू”

मसँगै हिड्न चाहने यी भाईहरुले आफ्नो पेशागत इमान्दारितामाथि कसैलाई पनि प्रश्न उठाउने ठाउँ दिएनन् । मैले उनीहरुलाई सशर्त यो क्षेत्रमा ल्याएको हुँ । मेरो सर्त थियो,“पत्रकारिता गर्नू, तर पत्रकारिताको नाममा दायाँ बायाँ नगर्नू ।”

बरु हामीले पत्रकारिताका खातिर एउटा सारङ्गी जीवन बितायौँ । पेट खोक्रो भए पनि मीठो धुन निकाल्ने हाम्रो प्रयत्न जारी थियो ।

एक दिन इलाका प्रहरी कार्यालय धरानका तत्कालिन प्रमुख प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठ (पछि वरिष्ठ प्रहरी उपरिक्षकबाट सेवा निवृत्त)ले एउटा भेटमा मलाई भने,“तपाईंहरु त हाम्रो अफिसमा पनि आउनुहुन्न, किन ?”
“म त आउन भ्याएको छैन सर, तर भाईहरुलाई त पठाइरहेकै छु त ।”
म उनै भाईहरुलाई पठाउँथेँ, हाम्रो पत्रिकाका लागि समाचार लिन, इलाका प्रहरी कार्यालय धरानमा । उनीहरु समाचार मात्र लिएर आउँथे, त्यहाँबाट । मैले उनीहरुलाई भनेको थिएँ,“प्रहरी कार्यालयबाट समाचार मात्र ल्याउनू ।”

तत्कालिन प्रहरी निरिक्षकको भनाईबाट मैले बुझेको आशय थियो, “बन्द खाम” बुझ्न मेरो टिम त्यहाँ जाँदै जाँदैन । अर्थात् मेरा भाईहरु जो मसँगै हिँडे, उनीहरुले मात्र पत्रकारिता गरे, तर पत्रकारिताका नाममा दायाँबायाँ गरेनन् ।

हो, हामीले पत्रकारिताको नाममा दायाँबायाँ गरेनौँ । बरु पसिना बगाउन यो पृथ्वीको विभिन्न भूगोलमा बाँडिएका छौँ, यतिखेर हामी । डम्बरकृष्ण र देवराज हङकङमा, जसकुमार अमेरिकामा र म युरोपमा छु । हामी पलायन भएका होइनौ । हामी विस्तारित भएका हौँ । पलायन भएको भए, कीबोर्डमा अक्षरहरुको गन्ती गर्दै नाचिरहेका यी औंला उहिल्यै भाँचिइसकेको हुने थियो । कि कसो ?

यी भाईहरु, जो मसँगै हिँडे । यात्रामा सँगै हिँडे पनि कोही अगाडी हुन्छ कोही पछाडी । यी भाईहरु चुचुरोमा पुगेको देख्न चाहन्छु म । यी भाईहरुले चुचुरो चुमिरहेको बेला, म भञ्ज्याङमै रहेरै खुसीले ताली पिटिरहेको हुनेछु । हाँसिरहेको हुनेछु, उसरी नै नाचिरहेको हुनेछु ।