ब्ल्याक फङ्गस अर्थात् कालो ढुसी भारतको गुजरात र मुम्बईबाट व्यापक रूपमा देखा पर्यो। छोटो समयमा नै धेरै मान्छेको ज्यान गएपछि त्यहाँ राष्ट्रिय सङ्कटको रूपमा देखापर्यो । आँखाबाट प्रवेश गरेर यसको भाइरस मस्तिष्कसम्म पुग्छ ।
करिब ५ हजार जनतालाई प्रभावित पारेपछि त्यहाँको सरकारले राष्ट्रिय सङ्कटको रूपमा लियो । यो चाहिँ एक किसिमको फङ्गस इन्फेक्सन हो । मेक्ररमाइसेटिस भन्ने फङ्गस हुन्छ । त्यो लगायत त्यसको प्रजातीले गर्दा कोभिड भएका मान्छेलाई प्रभावित पारिरहेका छ ।
कोभिड भएका मान्छेको रोगसँग लड्ने क्षमता कम हुन्छ । त्यस्तै बेलामा फेरि फोक्सोमा असर पुग्छ । फोक्सो बिग्रिन थालेपछि तुरुन्तै औषधी दिइहाल्नुपर्छ । तर यो सबैलाई हुँदैन । फोक्सोमा असर पुगेकालाई बचाउन फेरि गाह्रो पर्छ । त्यो एउटा औषधीले पनि स्वाट्टै रोग प्रतिरोधक शक्ति कम गरिदिन्छ ।
इम्युनिटी कम हुँदा यसले धेरै प्रभावित पार्छ । शरीरमा सजिलै नाकबाट प्रवेश गरेर नाकको मासु खाएर आँखामा पुग्ने र आँखाको मासु खाइसकेर मस्तिष्कमा पुग्ने यसको विशेषता हुन्छ ।
नेपालमा यसको प्रभावः
कालोढुसी भनेर आँखालाई असर पार्ने र आँखालाई असर पारेपछि आँखा निकाल्ने काम पहिले पनि भएको हो। त्यो एकदमै विरलै हुन्थ्यो । वर्षमा एक दुई वा कहिले कही हुँदैन पनि थियो ।
अहिले कोभिडमा यसको मात्र बढेको देखिएको छ। अहिले करिब १० भन्दा बढी व्यक्तिलाई देखिएको पुष्टि भइसकेको छ । यो मात्र झन्झन् बढ्ने हामीले अनुमान गरेका छौँ ।
लक्षणहरुः
सुरुवातमा छालामा पनि असर पुग्छ । सुरुमा कालो डढेको छाला जस्तो देखिन्छ । नाकमा असर पुग्छ । यसले पिनास जस्तो हुन्छ । नाक बन्द हुन्छ । नाकामा कालो पाप्रा देखिन्छ । नाकबाट रगत बग्यो भने र कालो पाप्रा देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ । नाकपछि आँखामा जान्छ ।
नाकमा आएको ७, ८ दिनमा आँखामा जान्छ । आँखाको डल्लो दुख्ने, आँखा रातो हुने, आँखाको डिल कालो हुने हुन्छ । एउटा बस्तुलाई हेर्दा दुई ओटा देखिने लक्षण हुन्छ । चिप्रा आइरहने र आँखा सुनिने हुनसक्छ । आँखाको भाग बाहिर आएको महसुस हुन थाल्छ । यसले आँखाको भित्री भाग छोटो समयमा नै खाइसक्छ र यो चाँडो मस्तिष्कमा पुग्छ । करिब ८ दिन भित्र यो मस्तिष्कमा पुगेर आँखामा आउने रक्तनली खाइदिइसक्छ । त्यो डरलाग्दो अवस्था हो । आँखा कामै नलाग्ने पनि बनाइदिन्छ । यसको असरले त मान्छे तुरुन्तै अन्धो हुन्छ ।
त्यसपछि बिस्तारै दिमागको भागतिर पुग्छ र यसले मान्छे अचेत हुने । समय समयमा मुर्छा पर्ने, टाउको दुख्ने र चक्कर लाग्ने लक्षण हुन्छ । तर ,यो चाहिँ अन्तिम लक्षण हो । हामीले पहिले नाकमा देखिएको लक्षण हुने बित्तिकै चाँडै चिकित्सकलाई देखाइहाल्नुपर्छ । नाकमा हुँदै पत्ता लगाए उपचार सहज हुन्छ ।
नाकको मासुको सानो भाग परीक्षण गरेर सहजै पत्ता लगाउन सकिन्छ । यो नाक कान घाँटीको डाक्टरले पत्ता लगाउन सक्नुहुन्छ ।
बच्ने उपाय :
कोभिड भएको बिरामीले प्रयोग गर्ने स्टोरेड नामको जुन औषधी छ यसको जथाभाबी प्रयोगले यो रोग निम्तिने सम्भावना हुन्छ । किनकि यसले मान्छेको रोगसँग लड्ने शक्ति घटाइदिन्छ । धेरैले कोभिड भएपछि चिकित्सकको सल्लाह नगरी यो औषधी अन्धाधुन्ध सेवन गरिरहेको पाइएको छ । यो घातक हो । सुगर र उच्च रक्तचाप भएका कोभिड सङ्क्रमितले आफ्नो जाँच नियमित गराउनुपर्छ र यो औषधी सेवन गर्दा त चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ ।
अर्को कुरा धेरैले कोभिड लागेको बिरामीलाई घाम नलाग्ने ओसिलो कोठामा मात्र राखिरहेका हुन्छन् । बाहिर निस्कँदा कोभिड फैलिने भन्दै घाम नलाग्ने चिसो कोठामा राखे यसको आक्रमणमा पर्न सकिन्छ । त्यसैले भरसक घाम लाग्ने कोठामा यस्ता सङ्क्रमितलाई राख्ने र पोसिलो आहार खुवाउने । जति सकिन्छ भिटामिनयुक्त खानेकुरा खुवाउने ।
हामीले खानेकुरालाई पनि विशेष ध्यान दिनुपर्छ । जस्तो खाएका कुराहरू सडेगलेका पो छन् कि, ढुसीको परेका छन् कि भनेर सतर्क हुनुपर्छ ।
त्यस्तै सङ्क्रमितलाई दिइने अक्सिजनमा पानी हुन्छ । त्यो पानी प्रयोग गर्ने मास्कमा पानीको ओसिलोपन भइरहने हुँदा लामो समयसम्म सफा नगर्दा त्यसले पनि ढुसी निम्त्याउने उच्च जोखिम हुन्छ । यसलाई बेला बेला सफा गरिरहनुपर्छ । व्यक्तिगत सरसफाइलाई पनि विशेष ध्यान दिनपर्छ ।
उपचारको अवस्था :
राम्रोसँग उपचार गरेको खण्डमा मानिसको बाँच्ने सम्भावना एक सय मा ६० प्रतिशत मात्र बाँच्ने सम्भावना हुन्छ। कहिकोहीले उपचार पाएनन् भने २० प्रतिशत मात्र बाँच्छन् । ८० प्रतिशतको त बाँच्ने चान्स नै हुँदैन ।
आत्तिहाल्नुपर्छ भन्ने छैनः
अहिले सुगर र कोभिड भएको मान्छेलाई कालोढुसी हुने रैछ भन्ने हल्ला पनि छ । यो आत्तिनुपर्दैन । माथि भनेका कुरालाई ख्याल गरे हामीले यो रोगबाट मुक्त हुन सक्छौँ ।
२० देखि ५० वर्षसम्मका मानिसहरूमा धेरै देखिएको छ । यसको फङ्गस मार्ने औषधी चाहिँ अहिले अभाव छ । हाम्रो (तिलगंगा) मा पनि हाहाकार नै छ। हामीले ठुलो प्रयासले अलिकति औषधी जतन गर्न सफल भएका छौँ। यसको एकै पटक उपचार हुँदैन । यसको उपचार महिनौँ लगाएर गर्नुपर्छ । यो महँगो औषधी हो ।
अर्को उपचार अप्रेसन हो । यसले खाएको कालोढुसीलाई फालेन भने फैलिन्छ । यसलाई नाकको भित्री भाग वा कहिलेकाहीँ आँखा नै निकालेर फाल्नुपर्ने हुनसक्छ । यसको उपचार देशैभरका दक्ष चिकित्सकले गर्न सक्छन् । यसमा विभिन्न विशेषज्ञको टिमको आवश्यकता पर्छ । शल्यक्रियाका लागि जनशक्ति तयार छ । तर, यसमा प्रयोग हुने औषधीको पर्याप्त मात्रामा उपलब्धता चाहिँ छैन । यो त्यति सस्तो खालको र सबै मानिसको पहुँचमा हुने उपचार पद्धति भने विल्कुल होइन ।
(इटहरी निवासी लिम्बु तिलगंगा आँखा प्रतिष्ठानमा वरिष्ठ आँखा रोग विशेषज्ञको रूपमा काम गर्छन् । इटहरीमा ग्लोबल आँखा केन्द्र समेत सञ्चालन गरी सेवा दिइरहेका लिम्बुलाई इटहरीमा आएको बेला गरिएको कुराकानी)