कसलाई थाहा नहोला र धरान चिनाउने भानुचौक ? म सानो हुँदा मेरा अग्रजहरूले बजार अड्डा भने जस्तो लाग्छ । वि.सं. २०३४/१२/३ मा श्री महानन्द सापकोटाज्यूले आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गरेपश्चात् प्रख्यात नाम रहन गयो भानुचौक । कसलाई चाहिँदैन र भानुचौक ? के व्यापारी, के गायक, के राजनीतिज्ञ, के यात्रु बाहक वाहन, के सङ्घ संस्था इत्यादिहरूको प्यारो भलो भानुचौक।
कहिलेकाहीँ भानुचौकको एक कुनाबाट दृष्टिविहिनहरुका सुरिलो स्वरहरू आफ्नै पारामा गुन्जिरहेको हुन्छ चाहे श्रोता होस् वा नहोस् । मानौँ स्वर सम्राट् नारायण गोपाल वा लता मङ्गेशकरको जन्म नै यहाँ भए जस्तो। भगवान् इन्द्रले कुनै युद्ध जितेर आए पश्चात् रङ्गीचङ्गी रथहरू बजार परिक्रमा गरे जस्तै, रातो, निलो, हरियो, पहेँलो ट्याम्पो र सफारीहरू पनि भानुको मूर्तिलाई परिक्रमा गरिरहेका मनोरम दृश्यहरू हेर्दा मानौँ धरान घुम्न आएका पर्यटकहरूलाई लोभ्याइ रहेका हुन्छन् ।
वर्षाको झरी पश्चात् जङ्गलमा कोइलीले को हो, को हो भनेर भाखा हाले जस्तै चौकको एउटा कुनाबाट पूर्व जाने एता है, पूर्व जाने एता भनेर रेटेको सुन्दा मनै हर्षले आनन्दित तुल्याउँछ । एउटा नेताले अर्को नेतालाई गाली गर्नु परे वा एउटा पार्टीले अर्को पार्टीलाई गाली गलौज गर्न परे अन्त हैन त्यही प्यारो भानुचौक नै चाहिन्छ। मानौँ देशको विकास र विनाश यही भानुचौकबाटै सुरु हुन्छ जस्तो । रक्तदान महादान भन्ने नारा प्राय: जसो यही चौकको एउटा चौतारीमा गुन्जी रहेका हुन्छन्, सायद अन्त कतै गरिएको रक्तदान कामै नलाग्ने जस्तो । रक्तदाताहरूको लर्को र भिडले गर्दा मानौँ भानुचौक परोपकारी अनि पुण्य कमाउने उद्गम थलो जस्तो लाग्दछ।
ठुलो बोरा बोकेर प्लास्टिकमा खै के राखेर सुँघ्दै, फुक्दै सडक बालबालिकाहरू यत्रतत्र छरिएर खेलेको देख्दा लाग्छ यस सँग सरोकार राख्ने सङ्घ संस्थाहरूले भानुचौकमा शहर कै ठुलो बाल उद्यान खोलिदिए जस्तो ।
काँकडभिट्टा जानुपर्ने यात्रीलाई विराटनगर जाने गाडीका सहचालकले तानेको, श्रीमान् श्रीमती कतै सँगै यात्रा गर्न लाग्दा श्रीमान् एकातिर श्रीमती अर्कोतिर कुदिएको देख्दा मानौँ भानुचौकले एउटा चटक देखाई रहेको जस्तो आभास हुने जसलाई ठिङ्ग उभिएर घण्टाघरले समय सकियो भने जस्तो चोकमा उभिएका ट्राफिक प्रहरीहरू पनि त्यही घण्टाघरको समय पर्खिरहेको जस्तै, आँखा चिम्ली रहेको जस्तै देखिने त्यही सबैको प्यारो भानुचौक।
कला संस्कृतिको त कुरै नगरौँ उभौलीमा चण्डी नाच होस् या जात्रामा लाखे नाच होस् चौक जतिको पवित्र भूमि अन्त कहीँ नभए जस्तो। युवा युवतीका जोडीहरूलाई बुरुक्क बुरुक्क उफार्न गायक तथा सङ्गीतकारको यही चोकमा घम्सा घम्सी परिरहने प्यारो स्थल नै भानुचौक। धरानका युवायुवतिहरूको फेशन डिजाइनको भानुचौक मा त कुरै नगरौँ के लेखने के नलेख्ने शब्द नै नपाएर किताब बन्द गरेर गहिरो सोचमा परेका भानु भक्तलाई पनि हम्मे हम्मे पर्ने त्यही प्यारो भानुचौक ।
प्रचण्ड गर्मीमा टायरको धुवा खाएर कालै भए जस्तो कहिले मैनबत्तीको रापले अनुहार नै उज्यालो भए जस्तो वर्षमा एक चोटी फूलमालाको वर्षले मनै उदाङ्ग भए जस्तो बिचरा भानुभक्त यी सबै दृश्य एवम् कोलाहल सुनिरहँदा पनि केही बोल्न नसकेर मूक दर्शक भएर उभिइरहनु भएको भानुभक्तको शालिक मानौँ मूकदर्शक नगरपालिकाको प्राङ्गणमा उभिनु परे जस्तो।
धन्न केही भएन ब्रेकफेल भए पनि, धन्न केही भएन चालक विना गाडी गुडे पनि भन्ने सुनिन्छ कहिले काहीँ यही भानुचौकमा मानौँ जादुमय शक्ति यही भानुचौकमा छ जस्तो। प्रदूषण र सास्तीले घेरिएका यस भानुचौकलाई भने बेला बखतको बन्द हडतालले वर्ष भरीलाई पुग्ने स्वच्छ सास लिइरहेको अनुभूति बेला बखत यही भानु चौकमा लिन पाइन्छ।
संभवत (भानुचौक बसपार्क) नेपाल कै पुरानो बसपार्कहरू मध्य एक जस्तो लाग्छ, यही ठाउँबाट नेपालका थुप्रै स्थानहरूमा बस सेवा यही भानु चोकले दिए जस्तो लाग्छ हामी भन्दा पछिका थुप्रै शहरहरुमा आज टर्मिनल बसपार्कहरू निर्माण भइसकेका छन् तर हामीलाई पनि त्यही प्यारो भानुचौक के बसपार्कको माया लाग्छ त्यही रमाउन चाहन्छौ मानौँ पशुपतिनाथले यो बसपार्क व्यवस्थापन गरे जस्तो । बस व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने कुरामा धरानका थुप्रै व्यक्तित्वहरू राष्ट्रिय स्तरमा परिचित भई सकेका छन् हामी गुरु भई कन पनि आज चेलाहरू सँग ज्ञान लिनुपर्ने आवश्यकता देखिन्छ किनभने हामीलाई हाम्रै भानुचौक बसपार्क प्यारो लाग्छ मानौँ यहाँबाट अन्तै सरे बस व्यवसाय नै नचल्ने जस्तो ।
यी सब नाटक भानुचौकको रङ्गमञ्चमा पर्दशन भई रहँदा भानुभक्तले न थपडी बजाउन सके न कुनै प्रतिक्रिया नै दिन सके किन कि वहाँ त एक शालिक मात्र हो तर धरानका ज्यूँदो संस्थाहरू वा सम्बन्धित निकायहरूले या त थपडी बजाउनु पर्यो या त कुनै प्रतिक्रिया दिनु पर्यो । यत्रो विशाल रङ्गमञ्चमा कुनै अप्रिय घटना नघटोस् भन्नका लागि सम्बन्धित निकायले समय मै सोच बनाउनु पर्ने हुन्छ अन्यथा भानु भक्त झैँ मौन र समय सूचक घण्टाघर जस्तै उभिनु सिवाय अरू केही रहन्न ।
यस्तो भद्रगोल चोक भित्र कसैको रोजी रोटी चलेको छ, कसैको गुजारा चलेको छ, कसैको पेसा/ व्यापार चलेकै छ किन कि यो सबैको प्यारो भानुचौक भएकोले गर्दा नै हो त्यसैले मलाई पनि भन्न मन लाग्छ मेरो पनि प्यारो भानुचौक ।
धन्यवाद !
सदस्य: सुनसरी उद्योग वाणिज्य सङ्घ