धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरान उपमहानगरका प्रमुखले चढ्ने गाडी बेचेर सडक बनाउने रोलर किन्ने प्रस्ताव राखेका छन् । 

मेयर साम्पाङले बिहीबारको कार्यपालिका बैठकमा उपमहानगरपालिकामा प्रमुखका लागि रहेको को १ झ ६४० नम्बरको स्कार्पियो गाडी ३० लाखमा बेचौ ? भनेर प्रस्ताव राखेका थिए । मेयर साम्पाङले राखेको यो प्रस्तावमा कत्तिले ठट्टा सम्झे भने कतिले होहोरेमै ताली पिटे ।

मेयर र उपमेयर कोषको बारेमा कार्यपालिका बैठकमा निकै चर्काचर्की परेपछि मेयर साम्पाङले स्वतन्त्रबाट जितेर आएको हुनाले हेपेको हो ? भन्दै कार्यपालिका सदस्यहरूलाई अव अर्को चुनाव नहुन्जेल सम्म जे सुकै भने पनि म तपाईँहरूको मेयर नै हुँ होइन र ? त्यसैले जे कुरामा पनि बखेडा झिकेर धरान उपमहानगरपालिकालाई अनिर्णयको बन्दी नबनाउन अनुरोध गर्दै मेयर साम्पाङले भने सबैलाई धरान र धराने जनताका लागि सोच्न आग्रह गरे । 

धरानका सडकहरू जीर्ण भएका छन् । टालटुल गर्न र बनाउनु पर्‍यो भने अरूको भर पर्नुपर्छ । बरु मिल्छ भने मेयरले चढ्ने स्कार्पियो ३० लाखमा विक्छ भने रोलर किनेर सडक हामी आफै बनाऊ भन्ने प्रस्ताव राखेका थिए । मिडियम साइजको रोलर ३० लाख सम्ममा आउने आफूले बुझेको बताउँदै धराने जनताले दिएको अभिमतको कदर सबै जनप्रतिनिधिले गर्न आग्रह गरे ।  

मेयर साम्पाङले धरानमा मेयर, उपमेयर कोषबाट केही गरौँ । बेसार कुट्ने मिल खोलौँ, धरानको बेसार यही कुटौँ र बेचौ भन्दै धरानमा दाँत कोट्याउने तुथपिक समेत उत्पादन हुन नसकेकोमा दुख व्यक्त गरे । उनले भने – धरानमा दाँत कोट्याउने तुथपिक बनाऔँ अनि धराने तुथपिक भनेर बेचौन कार्यपालिका बैठकमा भने । 

केही कार्यपालिका सदस्यहरूले भावनाको कुरा नगर्न मेयर साम्पाङलाई भन्दा मेयर सामपाङले यदि भावनाको कुरा गर्ने हो भने पकुवा खोलामा भइरहेको कामलाई हेर्न आग्रह गरे । जे कुरामा पनि राजनीतिक दलले धरान उपमहानगरपालिकालाई अनिर्णयको बन्दी बनाउन खोजेको भन्दै मेयर हर्क साम्पाङले कार्यपालिका बैठकमा सबै सदस्यहरूलाई धराने जनताको अभिमतको कदर गर्न आग्रह पनि गरे ।