धरानका नगरपिता हर्कराज राई (साम्पाङ) ले धरानको लागि धेरै कामहरू गरिसकेका छन् । गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा धराने जनताहरूले हर्कराज राईलाई रोजे र उनले निकटतम प्रतिद्वन्द्वीलाई करिब ५००० मतान्तरले जित्न सफल भएका छन् । धरानमा मेयरले उपमेयरको भन्दा कुल मतमा थोरै कम हुने गरी धराने जनताले मेयरको लागि इख देखाएका हुन कि भन्ने चर्चा चलेको पाइन्छ । यस्तो अवस्थाबाट निर्वाचित भएका हर्कराजले काम गरेर जनतालाई परिणाम दिनुपर्ने हुन्छ ।
वर्तमान अवस्थामा मेयरले नगरपालिकाको स्करपियो गाडी बेचर बाटो मर्मतको  लागि रोलर खरिद गर्ने निर्णय गरेका छन् जुन प्रशंसनीय  छ । यस सम्बन्धमा राम्रा र नराम्रा दुवै पक्षहरूको बारेमा चर्चा गर्ने प्रयत्न गर्नुपर्ने हुन्छ । 
राम्रा पक्षहरू  ः
- हर्कराजको पछिल्लो निर्णयले चाडै नै धरानमा बाँकी रहेका बाटाहरू पिच हुने र बिग्रेका बाटाहरूको मर्मत पनि हुने सम्भावना बढेर गएको देखिन्छ । 
- धरान उपमहानगरपालिका आर्थिक मितव्ययिताको फाइदा प्राप्त गर्नुपर्ने तर्फ अग्रसर भएको  देखिन्छ । 
- मेट्रो सिटी बनाउने लक्ष्यलाई मद्दत पुर्याउने देखिन्छ ।
- हर्कराजले अव आउँदो हिउँदमा धरानमा हुने पानीको सङ्कटलाई कसरी समाधान गर्छन् त्यो भने हेर्न बाँकी छ । 
नराम्रा पक्षहरू : 
- हर्कराजको बिदाइ पश्चात् आउने मेयरले  तुरुन्त नयाँ गाडी किन्नुपर्ने हुन्छ ।
- स्करपीयो गाडी ३० लाखमै बेच्न खोज्नु अहिलेको मूल्यमा मेल खाँदैन जसले नगरपालिकालाई धेरै नै आर्थिक घाटा हुनेछ । 
- खरिद गर्ने भनिएको रोलरले बाटो सम्याउँदा लेवलिङ हुँदैन त्यसको लागि गिटी सम्याउने डोजर पनि सँगसँगै ल्याउनुपर्ने हुन्छ ।
- यस्तै यस्तै आदि ।
हर्कराजलाई धरानको विकास गर्ने सवालमा धेरै नै चुनौती भए पनि धराने जनताले धेरै नै आशा राखेको पाइएको छ ।  हर्कराजले धरानको मुख्य समस्याको रूपमा रहेको बाँदर आतङ्कलाई समाधान गर्नका लागि आँप, लिची लगायतका बिरुवाहरू विजयपुर, पञ्चकन्या क्षेत्रमा लगाउने कार्य सम्पन्न गरिसकेका छन् जसले आसन्न दिनहरूमा बाँदरको आतङ्क क्रमशः कम हुने देखिन्छ । यतिले मात्र पुग्दैन अम्बा प्रजातिका बिरुवाहरू लगाएमा चाहिँ बाह्रमासै फल फाल्ने भएकोले बाँदरहरूको  आतङ्क कम हुने हुँदा त्यतिपटि पनि मेयरको ध्यान जानुपर्ने देखिन्छ । 
विगतमा घोपा बचाउ आन्दोलनको नेतृत्व  गरेका हर्कराजलाई अहिले आएर मान्छेको ज्यान भन्दा वृक्षारोपण गौण हो भनी घोपा बचाउ आन्दोलनमा केही व्यक्तिले वर्तमान मेयर हर्कराज राईलाई उनले विगतमा केही गरेका छैनन् भनी चर्को आलोचना सुरु भएको अवस्था पनि छ । त्यस प्रकारका विरोधी अप्ठ्यारा भोटर्सहरुवाट समेत हर्कराज जिले भोट प्राप्त गरेका छन् । त्यो पक्षलाई समेट्न केही कठिनाइ हुन्छ नै । यसका बावजुत पनि उनले अहिलेको घोपाको आन्दोलन समयसापेक्ष नभएको, यसले अन्ततः घोपा नै अन्यत्र सर्ने खतरा बढेकोले आन्दोलन तुरुन्त रोक्न नत्र राज्यले हस्तक्षेप गर्ने सङ्केत गरेका छन् जुन सह्रानीय कदम हो । 
अर्को बेथितिको आवाजहरू पनि आएकै हुन् । भानुचोकमा केही व्यक्तिहरू मेयरले हाम्रा कुरा सुनेनन् भनी धर्ना दिएर मेयरलाई पसिना-पसिना तुल्याइदिएको अवस्था पनि छ । 
जेहोस् धरानको मेयर भएर नगरपिता भएर प्रशंसा पाउन मानौँ सगरमाथा चढ्नु सजिलो हुन्छ तर धराने जनताको विविधता जान्नु राईको लागि धेरै नै जटिल छ । त्यहीँ कारण ठुलै जमातले गरौँ भनेर सहमति दिएतापनि वास्तविक धरानेहरु विमति मात्रै गरी रहन्छन् । सच्चा राजनीतिज्ञहरू धराने जनताहरूको विविध विमतिबाट वाक्क दिक्क भएर राजनीतिबाट पलायन भएकाहरूले वर्तमान अवस्था आशावादी भएर नजिकबाट नियालिरहेका छन् । 
अव धराने जनताले हर्कराजबाट यातायात कार्यालय धरानमा फर्काउने, मालपोतलाई थप व्यवस्थित गर्ने, दोहोरो कर प्रणाली हटाउने, निर्वाचनताका भनिएको कर घटाउने, दुव्र्यसनिलाई सुधार्ने, रातारात इटहरी सारिएको नेपाल टेलिकमको कार्यालय धरान फर्काउने, घोपाबाट सर्वसाधारण  जनताले उपचार गर्न सक्ने बनाउने, खानेपानीलाई जनताको पहुँचसम्म पुर्याउने र पानी नियमित उपलब्ध गराउने, धरानलाई मेट्रो सिटीको अवधारणा अन्तर्गत धरान उपमहानगरको समग्र भागलाई छुने गरी रिङ रोडको निर्माण गर्ने, छाडा छोडिएका साँढेहरू जस्तै धरानमा रहेका निजी विद्यालयहरूले असुलिरहेको चर्को शुल्क घटाउने आदि कुराहरूको समाधानको आशा गरेर बसेका छन् ।  यी कुरा हर्कराजले पूरा गर्न सक भने उनको आगामी यात्रा अझ निखारिएर अगाडि बढ्ने देखिन्छ, हैन भने उही पुरानै रोग दोहोरिने कुरामा दुई मत छैन । अस्तु !
 आर.ए.माधव लुइँटेल
धरान-१६, विद्युत् प्राधिकरण मार्ग