धरान : पछिल्लो समय देशव्यापीरुपमा फैलिरहेको डेङ्गु ज्वरोको सङ्क्रमण धरानमा पनि देखिन थालेको छ । 

धरानमा पनि डेङ्गु ज्वरोका बिरामी बढ्न थालेको भन्दै धरान उपमहानगरपालिकाले आज देखि सचेतनाका लागि माइकिङ गर्न सुरु गरेको छ । धरानमा यति जनालाई सङ्क्रमण भयो भन्ने आधिकारिक डाटा त छैन तर डेङ्गुको सङ्क्रमण बढ्न थालेकोले नगरवासीलाई सचेत र सजग हुन आज देखि धरान उपमहानगर क्षेत्रमा माइकिङ गर्न थालिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । 

विगतमा पनि धरानमा डेङ्गु महामारी फैलिएको र यस पटक पनि देशव्यापी यो महामारी बढिरहेको अवस्थामा धरान पनि उच्च जोखिममा रहेकोले समयमै नगरवासी सचेत र सजग रहनका लागि अपिल गरिएको हो । 

डेङ्गु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग भएकोले लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ । यसका लागी पानी जम्न सक्ने भाँडाहरू गमला, फूलदानी, खाली बट्टा वा खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदीमा पानी जम्न नदिने उपायहरू अवलम्बन गर्नुपर्ने हुन्छ । पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर वा छोपेर राख्नुपर्दछ ।

यो लामखुट्टेले दिउँसो टोक्ने हुँदा, दिउँसो पनि प्रायः पुरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनुपर्ने र घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्न धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले नगरवासीमा अपिल समेत गरेको छ ।