सुनसरी : प्रदर्शनको मिति नजिकिँदै गर्दा 'प्रेम गीत ३' ले आफ्नो प्रचार प्रसारलाई तीव्रता दिएको छ । नेपाली सिनेमाको इतिहासमा पहिलो पटक फिल्म नेपाली र हिन्दी भाषामा यो फिल्म प्रदर्शनमा आउँदै छ । फिल्मका निर्देशक, नायक नायिका, निर्माता तथा कलाकार भारतका विभिन्न सहर र नेपालका मुख्य सहरमा प्रचारमा निस्किएका छन् । शनिवार 'प्रेम गीत ३' का कार्यकारी निर्माता चक्र बहादुर चन्द कलाकार सुनिल थापा, प्रेम पुरी गायक प्रताप दास इटहरीमा आए।
पत्रकार सम्मेलनको आयोजना गरेर फिल्मको बारे जानकारी गराउँदै उनीहरूले हलसम्म गएर फिल्म हेरिदिन आग्रह गरे । नेपाली मात्र नभई बलिउडको पर्दामा समेत खेलिसकेका कलाकार सुनिल थापाले प्रेम गीत ३ ले नेपाली सिने जगतमा नयाँ रेकर्ड राखेको दाबी गरे । उनले नेपालमा मात्र सीमित रहेका चलचित्रलाई भारत जस्तो ठुलो देशमा देखाउन सकिने फिल्म बनेको र आफू समेत त्यसमा खेल्न पाउँदा खुसी भएको बताए । 
‘हामीले पनि अन्तर्राष्ट्रिय स्तरको फिल्म बनाउन सक्छौँ भन्ने सन्देश दिएको छ, 'प्रेम गीत ३' प्रदर्शनमा आउनु अभावै धेरै उचाइमा पुगिसकेको छ ।’ उनले भने “मार्केटमा यति हल्ला छ कि चर्चा छ, बलिउडको कुरै नगरौँ उहाँहरूलाई अब गाह्रो हुनेवाला छ।”  त्यस्तै कार्यकारी निर्माता चक्र बहादुर चन्दले नेपाली सिनेमा 'प्रेम गीत ३' बलिउड फिल्म सँग प्रतिस्पर्धा गर्न सक्ने गरी निर्माण गरेको दाबी गरे । उनले लामो समयको मेहनतले धेरै जोखिम मोलेर काम गरेको बताए । 
अहिले नेपाली सिनेमा घरले नेपाली फिल्मलाई प्रदर्शन गर्न रोक नै लगाएका छन् । यस अघि रिलिज भएको प्रकाश, झिँगे दाउ तथा शुक्रवार मात्रै प्रदर्शनमा आएको ऐना झ्यालको पुतली हेर्न आएका दर्शकलाई हलवालाले जति स्पेस दिनु पर्ने हो त्यो दिएनन् । यही अवस्था रहने हो भने प्रेम गीत ३ आम दर्शकले कसरी सहज रूपमा हेर्न पाउनु हुन्छ ? भन्ने प्रश्नमा निर्माता चन्दले बलिउड सँग प्रतिस्पर्धा गर्न सक्ने भए पनि सिनेमा घरसँग सङ्घर्ष गर्ने बेला भएको बताए । उनले यो विषयमा चलचित्र विकास बोर्डमा समेत छलफल भएको बताउँदै धागोको डल्लो गुजुल्टिए जस्तो भएको टिप्पणी गरे । हल सङ्घ, निर्माता सङ्घबाट एकले अर्कोलाई आरोप लगाउने र मिडियाबाजी गर्ने काम भइरहेको बताए ।
उनले सबै भन्दा सुरुमा नेपाली फिल्म राम्रो र गुणस्तरीय हुनुपर्ने बताए । निर्माता चन्दले भने ‘सिनेमा हलले एउटा स्वच्छ व्यवसायका रूपमा लिनु पर्छ । दर्शकहरूले प्रश्न गर्ने अवस्थामा पुग्नु भन्दा सिनेमा घर सुध्रिनु पर्छ ।’ आफूले सिनेमा क्षेत्रमा हुने राजनीति प्रेमगित २ मा भोगेको बताए । उनले प्रेमगित ३ मा त्यो हुन नदिने बनाए । ‘हिमपहिरो नाघेर आएका छौ, यस्ता सानातिना समस्यासँग जुधेर अगाडी बढ्छौ ।’ उनले भने । 
फिल्म असोज ७ गते बडादसैँको अवसर पारेर देशभर एक साथ प्रदर्शनमा आउँदै छ । यो सगँसगै सन् २००९ डिसेम्बर १७ मा रिलिज भएको अवतार समेत दोस्रो पटक फेरि प्रदर्शन आउँदै छ ।