सुनसरी : इटहरीमा अवैध रूपमा नेटवर्किङ व्यवसायको धन्दा चलाउने सक्रिय एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । ग्लोबल ओरियन्स कम्पनीको नाममा नेटवर्किङ धन्दा चलाउने गिरोहका ६ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । 
उक्त कम्पनीले केही महिना देखि इटहरी उपमहानगरपालिका वडा नम्बर ९ साथी पेट्रोल पम्प पछाडि एक घरमा कोठा भाडा लिएर विभिन्न औषधी तथा विभिन्न कम्पनीका सामग्री बिक्री गर्ने गरेको थियो । गोप्य सूचनाका आधारमा आज (सोमबार) पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
अवैध नेटवर्किङ चलाउने मुख्य मोरङको मिक्लाजुङ गाउँपालिका घर भएकी सचिता राई  र सुन्दरहरैँचा नगरपालिका घर भएका सञ्जीव माझी हुन् । पक्राउ परेका उनीहरूले अन्य व्यक्तिलाई कर्मचारीको रूपमा राखेर चलाउने गरेका थिए । 
स्थानीय तथा आम नागरिकलार्ई आर्थिक प्रलोभन देखाई थोरै लगानी गरे धेरै कमाउन सकिने भन्दै ठगी गर्ने गरेको समेत तथ्य खुलेको छ । प्रतिव्यक्ति २० हजार देखि एक लाख सम्म रकम लिएको पीडितको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।  
सुगर, प्रेसर भएका बिरामीले खाने औषधी भन्दै विभिन्न कम्पनीका सामग्री समेत उनीहरूले बेच्ने गरेका थिए । त्यस्तै हर्बल कम्पनीको सामान भन्दै स्याम्पु, साबुन समेत बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ ।  
जति धेरै सदस्य बनायो त्यति धेरै पैसा कमाइन्छ, प्रोमोशन हुन्छ, विदेशमा घुम्न जाने, ल्यापटप दिने जस्ता प्रलोभन देखाएर पैसा लिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब निरीक्षक भीम बहादुर खड्काले बताए । उनले भने ‘अहिले सम्म हामी समक्ष १० जना पीडित आउनु भएको छ, अनुसन्धानको क्रममा छौँ, भोलि सम्म अरू तथ्य खुल्छ ।’
globial-oriance-2