इटहरी : इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी सुनसरी २ (१) बाट प्रदेशसभाको उम्मेदवार भएका छन् । सत्तारुढ गठबन्धन अन्तरगत माओवादी केन्द्रबाट उनी उम्मेदवार भएका हुन् । मेयर हुँदा चौधरीकै आलोचकहरू अहिले उनलाई भोट माग्नुपर्ने बाध्यतामा परेका छन् । तत्कालीन नेकपा एमालेका नेता चौधरी माओवादी केन्द्र प्रवेश गरेसँगै नेपाली काँग्रेसले पनि उनलाई जिताउनुपर्ने भएको छ।   
मेयर भएको बखत अनेकौँ विवादमा तानिएका उनले एमालेमा भूमिका विहीन भएपछि माओवादीमा विकल्प खोजे । कम्युनिस्ट आन्दोलन र चिनिया जनसांस्कृतीक क्रान्तिको बारेमा खुलेरै प्रशंसा गर्ने चौधरी माओवादकै शरणमा पुगे । 
यस्ता थिए चौधरी 
घटना २०७६ असार ४ गतेको हो । इटहरी-१७ लविपुरमा सामाजिक विकृति विरुद्धको कार्यक्रम चलिरहेको थियो  कार्यक्रममा प्रमुख थिए तत्कालीन मेयर चौधरी । केही दिन अगाडी पत्रकारलाई दुर्व्यवहार गरेको कारण उनी चर्चित भएका थिए । काठमाण्डौका मिडियामा भ्रष्टाचार विरोधी अभियान चलाएको तर्क गरेर उनी भर्खरै इटहरी फर्किएका थिए । 
कार्यक्रममा सम्बोधन गर्ने क्रममा सुरुमै पत्रकारहरू ठिक ठाउँमा बस्नुपर्ने चेतावनी दिए । त्यसपछि लगातार महिलाहरू प्रति लक्षित अश्लील भाषा प्रयोग गरे । पटक पटक र..डी जिन्दाबाद भन्दै नारा लगाए । ‘र..डी ले गर्दा लिपिस्टीक विकेको छ । र..डिले गर्दा होटेल चलेको छ । र..डी जिन्दाबाद !’ भन्दै असभ्य भाषण गरे । उनको भाषण सुन्न नसकेर महिलाहरू एकपछि अर्को गर्दै बाहिरिएका थिए । उनै चौधरी गठबन्धनको तर्फबाट उम्मेदवार भएका छन् । 
त्यसअघि २०७६ जेठ ८ गते उपमहानगरपालिकाकै कर्मचारीमाथि कुटपिट गरेका थिए । सब ओभरसियर राम खड्का र नायव सुब्बा मनोज दाहाललाई कुटपिट गरे । कर्मचारीले उनी विरुद्ध नाराबाजी नै गरे । सोही दिन पत्रकार माथि जाई लागे । पत्रकार कृष्ण बहाव भट्टराई मेयर भवनको भुक्तानीको विषयमा प्रश्न गर्दा उनले चिनिया जनसांस्कृतीक क्रान्ति देखी शासकको चरित्र पढाए । प्रश्न दोहोर्‍याएर सोधेका भट्टराईलाई लोपारेर दुर्व्यवहार गरे ।  
त्यस लगत्तै जेठ २१ गते इटहरीका पत्रकारलाई नाकको डाँडी भाँच्न एक करोड छुट्टाएको भन्दै धम्की दिए । सामान्य विवादका बिच चौधरी पत्रकार विरुद्ध खनिए । त्यतीमात्र हैन गुन्डा नाइके भनेर चिनिने पर्शुराम बस्नेलाई पत्रकार कुट्न सुपारी दिएको अभिव्यक्ति दिए । एमालेको युवा भातृ सङ्गठन युवासंघको नेता रहेका बस्नेत यसअघि पत्रकार खिला ढकालको कुटपिटमा संलग्न भएका थिए । उनै बस्नेत अहिले मोरङ ६ (२) को प्रदेशसभा सदस्यको उम्मेदवार भएका छन् । 
२०७८ साउन २७ गते इटहरी ४ का यामप्रसाद ढकाललाई कार्यकक्षमै थुने । चौधरी आफैले खेती खोला मिचेर संरचना बनाएको विषयमा थप कुरा बुझ्न बोलाएर कार्यकक्षमा थुनेका थिए । नेपाली काँग्रेसले मेयर कक्षमा तालाबन्दी गरेर विरोध जनाएको थियो । पछि मेयरले माफी माग्नुपर्‍यो । विभिन्न गतिविधिमा मुछिएपछि उनले मेयरको कार्यकाल भरि ६ पटक सम्म लिखित माफी मागे । 
त्यसबिचमा एमालेका स्थानीय नेता रामप्रसाद चौलागाईको विरुद्ध सामाजिक तथा भौतिक आक्रमणमै उत्रिए । केन्द्रीय नेताहरूले व्यवहार सुधार गर्न आग्रह गर्दासमेत उनले उल्टै गालीगलौज गरे । जसले उनलाई एमाले भित्र भूमिका विहीन अवस्थामा पुर्‍यायो । 
एमाले छाडेर ओलीको अहङ्कार लाई धूलिसाथ पार्न माओवादी प्रवेश गरेको उनले तर्क गरेका छन् । आफूलाई धेरै पार्टीले अवसर दिँदा पनि माओवादी बाट ओलीलाई देखाउने उनको भनाई छ । हाल उनी सँगै ओली निकट एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी चुनावी मैदानमा छन् ।